सुत्केरी र नवजात शिशु मृत्युको विषयलाई लिएर फेरि राजमार्ग अवरुद्ध, दुई दिनसम्म उठेन शव


२८ चैत्र २०७९, मंगलवार
kailali

कैलाली । कैलालीको मालाखेती अस्पतालमा प्रसुतिका क्रममा महिला र नवजात शिशुको मृत्यु भएको दोस्रो दिनसम्म शव उठाइएको छैन । स्वास्थ्यकर्मीको लापरबाहीले आमा र शिशुको मृत्यु भएको दाबी गर्दै मृतकका आफन्त आन्दोलित भएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । छानबिन समिति गठन नभएसम्म शव नउठाउने आफन्तको अडान छ ।

सुरक्षित प्रसुतिका लागि अस्पताल भर्ना भएकी गोदावरी नगरपालिका– २ बस्ने २८ वर्षीया लक्ष्मी भट्टराई र उनको नवजात शिशुको सोमबार बिहान मृत्यु भएको थियो । चिकित्सकले पेटबाट शिशु निकालेको केहीबेरपछि दुवै जनाको मृत्यु भएको हो ।
लक्ष्मीका श्रीमान् शिवराज भट्टराईले छानबिन समिति गठन नभएकाले शव नउठाएको बताए । सोमबार राति भएको छलफलमा छानबिन समिति गठन गर्ने सहमति भएको उनले बताएका छन् । मृतकका आफन्त र स्थानीय चिकित्सकको लापरबाहीबारे छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै अहिले सडकमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले राजमार्ग बन्द गरेपछि र प्रहरी सुचारु गराउन खोजेपछि केहीबेर तनावको स्थिति सिर्जना भएको छ ।

मृतककी बहिनी धर्मा भट्टराईका अनुसार यही १८ चैतमा सुत्केरी हुने मिति थियो । चिकित्सकले दिएको मितिको एक सातासम्म पनि बेथा नलागेपछि आफन्तले सामान्य अवस्थामै लक्ष्मीलाई आइतबार मालाखेती अस्पताल पु¥याएका थिए । धर्माका अनुसार अस्पताल भर्ना गरेर स्वास्थ्यकर्मीले यौनांगमा सुत्केरी बेथा लाग्ने औषधि राखेका थिए, रातिसम्म पनि लक्ष्मीको स्वास्थ्य अवस्था सामान्य थियो ।

‘राति ३ बजेतिर अप्ठ्यारो सुरु भयो । सास फेर्न गाह्रो भएपछि बिहान ६ बजे अक्सिजन चढाइयो,’ अस्पतालमा कुरुवा बसेकी धर्माले भनिन्, ‘हामीले त्यतिवेलै बिरामीलाई अप्ठ्यारो हो भने सेती अस्पताल लैजान्छौँ भन्यौँ, तर नर्सले सामान्य समस्या हो, बच्चाको अवस्था पनि सामान्य छ भने ।’

बिहान ८ बजे डाक्टरले पेटबाट बच्चा निकाले थिए । निकालेको केही मिनेटमै बच्चाको मृत्यु भएको थियो । आफन्तका अनुसार सेती अस्पतालमा लैजान्छौँ भन्दा डाक्टरले पनि सुरुमा केही हुन्न, नआत्तिनु भनेर आश्वस्त पारेका थिए । ‘सुरुमा डाक्टरले पनि सामान्य अवस्था छ भनेका थिए, पछि केस जटिल भएको भन्दै धनगढी पठाउनुप¥यो भने,’ धर्माले भनिन्, ‘बच्चा निकालेर टाँका लगाउने वेला पनि दिदीले दुख्यो भनिरहेकी थिई ।’ धनगढी लैजान एम्बुलेन्समा राख्दासम्म लक्ष्मीको मृत्यु भइसकेको थियो ।

उपचारमा संलग्न चिकित्सकले भने लक्ष्मीको स्वास्थ्य अवस्था एक्कासी गम्भीर बनेको र प्रयास गर्दा पनि बचाउन नसकेको बताएका छन् । मालाखेती अस्पतालका प्रमुख डा. अन्वेश कोइरालाले सामान्य अवस्थामा रहेको प्रसुतिको एक्कासी मृत्यु हुने अवस्था आएको बताए । पेटबाट बच्चा निकाल्ने बित्तिकै आकस्मिक रूपमा जटिल समस्या आएको उनले बताए ।

पाठेघरको पानी फोक्सोमा जाँदा एक्कासी स्वास्थ्य जटिल बनेको देखिएको डा. कोइरालाले बताए । ‘पेटबाट बच्चा निकालेको एकछिनमै आमाको अवस्था नाजुक बन्यो,’ उनले भने, ‘पाठेघरको पानी फोक्सोमा गएका कारण मृत्यु भएको देखिन्छ, यकिन कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि थाहा होला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७