वामदेव गौतमको सदस्यता एमालेमै छ : ओली


२४ जेष्ठ २०८०, बुधबार
kp oli bamdev 2 jspiyFLOBa
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन उपाध्यक्ष वामदेव गौतम आफ्नो पार्टीकै सदस्य रहेको बताएका छन् । एमालेले ७० वर्षे उमेर हद हटाएपछि वामदेवले आफू फर्किन तयार रहेको बताएपछि ओलीले उनको सदस्यता कायमै रहेको स्पष्ट पारेका हुन् । ‘वामदेव गौतमको सदस्यता एमालेमै छ’, उनले संसद् भवन बाहिर पत्रकाररुसँग भने ।

काठमाडौंमा भएको नवौँ महाधिवेशनमा माधव नेपाललाई हराउँदै ओली अध्यक्ष भएका थिए । त्यसबेला ओलीकै प्यानलबाट वामदेव उपाध्यक्ष बनेका थिए । तर नेकपा माओवादी केन्द्रसँग मिलेर बनेको नेकपामा २०७७ कात्तिकदेखि विवाद बढ्दै गएर विभाजनसम्म पुग्दा वामदेव ओलीकोविरुद्धमा उभिइसकेका थिए ।

त्यसपछि २०७७ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएसँगै वामदेवले एमालेमा रहेर काम गर्न चाहेनन् । उनले ओलीले एकलौटी गरेको भन्दै एमालेका उपाध्यक्ष रहँदै वामदेवले २०७८ भदौ १८ गते पार्टी परित्याग गरेका थिए ।

अध्यक्ष ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका थिए । तर उनैले अहिले पार्टी सदस्यता नत्यागेको बरु नवीकरण गरिरहेको खुलाएका छन् ।

यता बामदेव गौतमले पनि एमाले आफ्नो घर भएको बताउँदै अध्यक्ष ओलीले बोलाए फर्किने बताएका छन् । ‘वामदेव गौतम अब एमालेको अध्यक्ष र महासचिव हुनु छैन । म त्यहाँ योगदान गर्न जाने हो । मैले मेरो अनुभव बताउन जाने हो,’ उनले भने, ‘मैले काम गर्ने ठाउँ चाहिन्छ, क्षेत्र चाहिन्छ । बसेर बोलिरहने ठाउँ चाहियो । पण्डित नै भएर पनि म एमालेमा काम गर्न सक्छु । मेरो व्यवस्थापन भएमा म जान तयार छु । ७० वर्षे उमेर हद हटाउनु भयो भने म प्रवेश गर्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७