साइलेज उद्योग सञ्चालनमा


२५ जेष्ठ २०८०, बिहीबार
sailej 1

चितवन । दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१३ चम्पानगरमा रहेको उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा साइलेज उत्पादन गर्न सुरु गरेको हो ।

दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ । पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईबस्तुका लागि निकै लाभदायिक मानिन्छ । साइलेजलाई मेसिन (साइलेज ब्यालर) ले नै प्लाष्टिकमा प्याकिङ गर्छ । गाई भैँसीका लागि साइलेज पौष्टिक आहार हो ।

उद्योगमा भरतपुर महानगरपालिका कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखा र उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाको ५०-५० प्रतिशत लगानी छ । कूल रु ४२ लाख ३५ हजार लागतमा स्थापना भएको उद्योगको बुधबार भरतपुर–१३ का वडाध्यक्ष प्रकाश दवाडीले उद्घाटन गरे । उनले साइलेज उद्योग स्थापनाले यस क्षेत्रका किसानले लाभ प्राप्त गर्ने बताए । गुणस्तरीय दूध उत्पादनसँग गाई भैंसीको पनि स्वस्थ्य रहने भएकाले साइलेजको प्रयोग गर्न किसानलाई प्रोत्साहित गर्ने उनको भनाइ छ ।

सुक्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष होमनाथ सुवेदीले बताए । उनले महँगो मूल्यमा पराल किनेर खुवाउने बाध्यता किसानलाई उद्योग स्थापनापश्चात् राहत हुने विश्वास व्यक्त गरे । यहाँका किसानले अहिले पनि विभिन्न ठाउँबाट साइलेज दाना ल्याउने गरेका छन् । ‘अब स्थानीयस्तरमै उत्पादन हुदा यसले यहाँका किसानलाई लाभ मिल्ने छ । अहिले पशुपालनमा दाना, आहाराको लागत बढ्दा उत्पादन लागत पनि बढेको छ । हामी प्रतिकेजी साढे ११ रुपैयाँको दरले वितरण गर्ने छौँ जुन बजार मूल्यभन्दा सस्तो हो’, उनले भने ।

विसं २०४२ देखि दुग्ध सङ्कलनसँगै पशुपालक किसानका लागि काम गर्दै आएको यो सहकारीले साइलेजको विस्तारका लागि मकै खेतीमा समेत किसानलाई सहयोग गर्ने कार्यक्रमको समेत तयारी गरेको छ । चितवन जिल्ला दूधमा आत्मनिर्भर छ । यहाँका सहकारीले पछिल्लो दिनमा व्यावसायिकरुपमा किसानको क्षमता बढाउन काम गर्दै आएका छन् । यहाँबाट काठमाडौँ, पोखरालगायतका सहरमा दूध निर्यात हुने गरेको छ । भरतपुर महानगरपालिकाले पनि आफ्नो बजेटबाट प्रतिलिटर रु तीन अनुदान दिने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७