गर्मीले दैनिक जनजीवन कष्टकर, विद्यालय बन्द


३२ जेष्ठ २०८०, बिहीबार
garmi
फाइल फोटो

कैलाली । कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ ।

रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउँछिन् । यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उनलाई रिक्सा चलाउन कठिन भएको छ । ‘गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ’, मायाले भनिन्, ‘दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन । केही दिनदेखि गाह्रो भएको छ ।’

अर्का रिक्सा चालक दिलबहादुर चौधरी पनि तातो हावा र गर्मी सहन कठिन भएको बताउँछन् । ‘यात्रु बोकेर हिँड्दा सबै ठाउँमा चिसो पानी खान पाइँदैन, एकातिर गर्मी, अर्कोतर्फ तातो पानी पिउन सकिँदैन’, उनी भन्छन्, ‘कहिलेकाहीँ त मुटु पनि दुख्छ । हिजो त गर्मीले मुटु दुख्न थालेपछि दिनभरि रिक्सा चलाउन गएन ।’

विगत पाँच वर्षदेखि रिक्सा चलाएर जीवन धानेकी लक्ष्मी चौधरी पनि यस वर्ष दिउँसोमा रिक्सा चलाउन नसकेको बताउँछिन् । ज्यालादारी गर्नुभन्दा अटोरिक्सा चलाउन थालेकी लक्ष्मीलाई पनि गर्मीले हैरान पारेको छ । ‘गर्मीले यात्रु बोक्न सकिएको छैन, साँझ र बिहान मात्र चलाउँछु, दिनभरि चलाए पो कमाइ हुन्छ’, उनी भन्छिन्, ‘थोरै काम गर्दा पनि गर्मीले बेलुका थाकिन्छ, एकातिर गर्मीमा रिक्सा चलाउनु, अर्कोतर्फ भान्सामा काम गर्दा पनि गर्मी हुन्छ । महिलालाई त कठिन मात्र ।’

राधाकृष्ण थारुलाई पनि यस्तै समस्या छ । ‘बाटा राम्रो छैनन् । धुलैधुलो, खाल्डाखुल्डी भएको सडकमा गर्मी छल्न मुस्किल भएको छ’, उनी भन्छन्, ‘गर्मीमा दिउँसो यात्रु बोक्न पनि सकिँदैन, गर्मीमा यात्रु पनि पाइँदैनन् ।’ गर्मी बढेपछि दैनिक ज्यालादारी काम गर्नेलाई पनि समस्या भएको छ । दैनिक घर निर्माणको काममा संलग्न राधेश्याम चौधरी पनि एक सातादेखि काममा जान सकेका छैनन् । ‘घरको मसला बनाउँदै थिए, एक दिन गर्मीले ढलेछु । साथीहरुले अस्पताल लगेर उपचार गरेर बचाए’, राधेश्यामले भने, ‘त्यसपछि काममा गएको छैन । पानी परेपछि अलि शीतल भएमा काममा जाउला भनेको छु ।’

राधाश्याम जस्तै अन्य कामदार समेत गर्मीले नियमित काममा जान सकेका छैनन् । गर्मी बढेपछि टीकापुर अस्पतालमा समेत विभिन्न समस्या भएका बिरामी बढेको छन् । तापक्रम बढ्दै जाँदा मानिसको स्वास्थ्यमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने जस्ता समस्या देखा पर्छन् । गर्मीको समयमा मानिसको शरीरमा पानीको मात्रा घटी मानिस बेहोस हुने, बिरामी हुने, ज्वरो आउनेलगायतका समस्या देखिएका बिरामी बढेका अस्पतालले जनाएको छ ।

गर्मी बढेपछि विद्यालयमा बिदा

गर्मी अत्यधिक बढेपछि कैलालीका विद्यालयमा गर्मी बिदा दिन थालिएको छ । गर्मी बढेपछि बालबालिकालाई विद्यालय जान आउन कठिन भएको छ । बालबालिका गर्मीले विद्यालयबाट आउँदा ओठमुख सुकाएर आउने भएकाले अभिभावकले बिदा दिन माग गरेका हुन् ।

पछिल्लो समय अत्यधिक गर्मी बेढेकाले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने देखिएकाले हिउँदे वा बर्से बिदाबाट मिलाउने गरी बिदा दिइएको पालिकाले जारी गरेका सूचनामा उल्लेख छ । गर्मी बढेकाले कैलालीको टीकापुर नगरपालिकाले असार १ गतेबाट बिदा दिने निर्णय गरेको छ । धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले यसअघि नै बिदा दिइसकेका छन् । गर्मीले बालबालिकालाई विद्यालय जान र विद्यालयमा समेत शिक्षणमा समस्या भएपछि बिदा दिन थालिएको हो । टिनका छाना, प्रचण्ड गर्मी, कतिपय विद्यालयमा पङ्खा समेत नभएको अवस्थामा विद्यालयमा पठनपाठनमा समस्या भएको शिक्षक बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७