ढोरपाटन पुग्नै सकस


२४ असार २०८०, आईतवार
Dhorpatnan Baglung

बागलुङ । चारैतिर हरियाली पहाड, बीचमा समथर भू–भाग । राता, सेता, पहेंला र निला रङ्गका वनफूलले ढाकिएको ढोरपाटन उपत्यका यति बेला निकै मनमोहक देखिन्छ । कतिबेला पानी पर्ने, कति बेला घाम लाग्ने, यहाँको विशेषता हो । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनले यति बेला आगन्तुकलाई पर्खि रहेको छ ।

सदाबहार सुन्दर देखिने ढोरपाटनले यो याममा आगन्तुकलाई बढी लोभ्याउने गर्छ । समथर मैदानमा कुद्ने घोडा, खच्चड र गाईभैँसीको बगालले झनै मोहित बनाउँछ । टाढैबाट पनि आकर्षक देखिने ढोरपाटन उपत्यकामा यति बेला घुम्न आउनेको संख्या हवात्तै बढेको छ । तर यहाँ पर्याप्त सडक सुविधा भने छैन । त्यसैले सबै ढोरपाटन पुग्न सक्दैनन् । सडकको दुरावस्थाका कारण आगन्तुक सहज रुपमा ढोरपाटन पुग्न सक्दैनन् ।

राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको एक दशक बितेको छ । अहिलेसम्म स्तरोन्नति हुन नसक्दा पर्यटकले सास्ती खेप्नु परेको छ । सडक स्तरोन्नतिका लागि बजेट विनियोजन नभएर होइन, निर्माण कम्पनीले समयमा काम नगर्दा यात्रा गर्न कठिन हुने गरेको हो ।

ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङदेखि बोबाङसम्म सडक राम्रै भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधान ढोरपाटन पुग्न सक्दैनन् । यसबेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारीसाधान बीच बाटोमै बिग्रिने हुँदा उनीहरुसमेत अलपत्र पर्ने गरेका छन् । केही दिनदेखिको वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको हुँदा यात्रा गर्न कठिन भएको गुल्मीको शान्तिपुरबाट यहाँ घुम्न आएका किशोर क्षेत्रीले बताए । निसेलढोरसम्म पुग्ने योजना बनाएर साथीसँग आएका क्षेत्रीले फल्लेघरको माथिल्लो घुम्तीबाटै बुर्तिबाङ फर्किनु परेको सुनाए । ‘बसाइँ बुटवलतिर छ, बर्खे बिदामा गाउँ आएको बेला ढोरपाटन घुम्न आएका थियौँ, बुर्तिबाङभन्दा माथिसम्म त बाटो सजिलो रैछ, त्यसभन्दा माथि त निकै गाह्रो रहेछ, सडक अप्ठ्यारो हुँदा ढोरपाटन पुग्न सकिएन’, क्षेत्रीले भने, ‘ढोरपाटन घुम्ने चाहना पूरा भएन ।’

सडकले तराई र पहाडलाई जोड्ने गरी रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ । सडकको दुरावस्था हुँदा पर्यटकसँगै ढोरपाटनका स्थानीयले समेत सहज रुपमा यात्रा गर्न पाएका छैनन् । सडक साँघुरो र हिलाम्मे हुँदा वस्तुभाउसहित लेकबेँसी गर्न सकस भएको स्थानीय वीरबहादुर सुनारले बताए । हिउँदमा साना गाडी जसोतसो चल्ने गरे पनि बर्खाको समयमा ठप्प हुने गरेको उनको भनाइ छ । साँघुरो सडक हुँदा बेला बेलामा दुर्घटना समेत हुने गरेकाले यसतर्फ सरोकारवालाको ध्यान पुग्न जरुरी रहेको उनले बताए ।

‘सडकका कारण ढोरपाटन घुम्न आउनेलाई सकस हुन्छ’, सुनारले भने, ‘गाडी बाटोमै बिग्रिदा कति त बाटैबाट फर्किन्छन्’, उनले भने । विसं २०७१ मा सो सडकको ट्रयाक खुलेको हो । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर लामो सडक छ । सालझण्डीदेखि ढोरपाटनसम्मको लम्बाइ एक सय ९७ किलोमिटर रहेको छ । विसं २०७७ भदौ १७ गते राति आएको भिषण बाढीले विभिन्न स्थानमा सडक बगाएको थियो । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नं १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि दुई वर्ष अगाडि सम्झौता भएको थियो ।

हालसम्म २८ प्रतिशत मात्रै काम भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इञ्जीनियर सरोज आचार्यले जानकारी दिए । बुर्तिबाङदेखि फल्लेघरसम्मको सडक स्तरोन्नतिका लागि गत वर्ष कात्तिकमा स्वच्छन्द-ओमबुद्ध जेभीसँग ३० महिनामा काम सक्ने गरी रु २५ करोडमा सम्झौता भएको आचार्यले बताए । स्तरोन्नतिको कामलाई तीव्रता दिन कार्यालयले निर्देशन दिए पनि निर्माण कम्पनीले ढिला सुस्ती गरिरहेको उनी बताउँछन् ।

गङ्गरेदेखि बुर्तिबाङसम्म पनि काम भइरहेको आचार्यले बताए । सो खण्डमा कच्ची नाली निर्माण गर्ने काम भइरहेको छ । ‘कामले गति लिन सकेको छैन, अहिले पर्खाल लगाउने काम भइरहेको छ’, उनले भने । उनका अनुसार गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर सडक पर्छ । उक्त यस सडकका लागि यसवर्ष रु ४० करोड विनियोजन भएको थियो । ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख धनबहादुर कायतले ढोरपाटन प्राकृतिक रुपले सम्पन्न भए पनि सडकका कारण पर्यटकले सास्ती खेप्नु परेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७