युद्ध अन्त्य गराउने प्रयासमा सुडानी नागरिक समाजको इजिप्टमा बैठक


९ श्रावण २०८०, मंगलवार
sudan

काठमाडौं । सुडानका नागरिकहरूको राजनीतिक गठबन्धन समूह द फोर्सेस अफ फ्रिडम एण्ड च्यालेञ्जले देशमा एक सय दिनदेखि जारी युद्धलाई कसरी अन्त्य गर्नसकिन्छ भन्ने सम्बन्धमा इजिप्टको राजधानी कायरोमा गहन छलफल गरेको छ ।

दुई दिनसम्म सञ्चालन भएको उक्त बैठक सुडान सङ्कटको मूल कारणबारे नागरिकस्तरमा प्रत्यक्षरूपमा छलफल गर्न महत्वपूर्ण भएको गठबन्धनले एक विज्ञप्ति निकालेर बताएको छ । ‘उत्तरी अफ्रिकी देश भित्र र बाहिर सुडानीहरूको पीडालाई बढाउँदै जारी द्वन्द्वको अन्त्य तथा नागरिक लोकतान्त्रिक शासनको पुनःस्थापनालाई बैठकले जोड दिएको छ’, युद्धको अविलम्ब अन्त्य हुनुपर्नेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ ।

बैठकमा सहभागी सुडानका सात छिमेकी राष्ट्र इजिप्ट, इथियोपिया, दक्षिण सुडान, चाड, इरिट्रिया, मध्य अफ्रिकी गणतन्त्र र लिबियाका नेताहरूका साथै अफ्रिकी सङ्घ र अरब लिगका उच्च पदस्थ अधिकारीहरूले सुडानको एकता र सार्वभौमसत्ताप्रति पूर्ण सम्मान व्यक्त गर्दै आन्तरिक द्वन्द्वमा बाह्य हस्तक्षेप हुन नहुनेमा जोड दिँदै युद्धरत पक्षलाई तत्काल युद्धविराम गर्न आह्वान गरेका छन् । साथै उनीहरूले अन्तर्राष्ट्रिय मानवीय सहायता निकायलाई सुडानका छिमेकी देशसँग समन्वय गरी सहायता परिचालन गर्न अनुरोध पनि गरेका छन् ।

सुडान द्वन्द्वमा परी हालसम्म तीन हजारभन्दा बढीको मृत्यु भएको छ भने कम्तीमा छ हजार घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयका अनुसार तीस लाख सुडानी विस्थापित भएका छन् । सुडानभित्रै २४ लाख ४० हजार विस्थापित भएका छन्भने छ लाख ६० हजार छिमेकी मुलुक पलायन भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७