सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय

सदनको गतिरोध खुलाउन सभामुखको पहल


२२ श्रावण २०८०, सोमबार
mao 1

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

आजको बैठक अवरुद्ध सदनलाई कसरी सञ्चालन गर्नेमा केन्द्रित भएको उनले बताए । मुख्य सचेतक पाण्डेले सदनलाई सञ्चालन गर्न विभिन्न तहमा छलफल र संवाद भइरहेको उल्लेख गर्दै सभामुख देवराज घिमिरेले राखेको बैठकमा सदन सञ्चालन गर्न सहमति जुट्ने विश्वास व्यक्त गरे ।

बैठकमा राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले सभाको गतिविधि र मुख्य सचेतक पाण्डेले प्रतिनिधिसभाको गतिविधिबारे जानकारी गराएका थिए । दुवै सदनका सचेतकको ‘ब्रिफिङ’ का सम्बन्धमा राष्ट्रियसभा र प्रतिनिधिसभाका १२ सांसदले धारणा राखेका थिए । बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले समग्र नेपाली जनताको भावनालाई समेटेर सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रुपान्तरणका साथ अगाडि बढ्नका लागि र सङ्घीय संसद्को भूमिका अझ वृद्धि गर्न सांसदलाई निर्देशन दिएका थिए । उनले भर्खरै सम्पन्न केन्द्रीय समितिले लिएका निर्णय व्यवहारमा कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिए ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकको मूल भावका साथै सङ्घीय संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा प्रष्ट पारेका थिए । उनले सङ्घीय शिक्षा, सङ्घीय निजमती र सङ्घीय प्रहरी ऐन सरकारको प्राथमिकतामा रहेको र ती विधेयक तत्काल सदनमा दर्ता गर्न लागिपरेको बताए । 

बैठकमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दलसँगको संवादका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै अवैध सुन बाहिरिएको विषयको निश्पक्ष छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिने निर्णय भएको विषय राख्ने जानकारी दिएको मुख्य सचेतक पाण्डेले बताए ।

‘सुन समातिएपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान अगाडि बढायो, यो राजस्वसँग मात्र सम्बन्धित नभएको र सङ्गठित अपराधसँग पनि जोडिएकाले यसको अनुसन्धानका लागि सिआइबीको जिम्मा लगाएको छ’, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै उनले भने ।

सदनको गतिरोध खुलाउन सभामुखको पहल
सङ्घीय संसद्को अवरोधको स्थिति खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेतालाई सदनको अवरोध खोल्न सभामुख घिमिरेले पुनः आग्रह गर्ने उनको सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ सहित प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उनीहरुको प्रमुख सचेतक वा सचेतकलाई बोलाएका छन् ।

यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ । राष्ट्रियसभाको बैठक पनि स्थगन हुँदै आएको छ ।

दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएकाले सो अगाडि सहमतिको पहल गर्न लागिएको हो । निकासका लागि सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुई पटक टेलिफोन संवाद गरेका थिए भने प्रमुख सचेतक र सचेतकसँग विभिन्न चरणमा छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७