एसिया कप क्रिकेट आजदेखि : नेपाल पहिलो वरियताको पाकिस्तानसँग उदघाटन खेल खेल्दै


१३ भाद्र २०८०, बुधबार
Nepal vs Pakistan 1693333523

काठमाडौँ । एसिया कप क्रिकेट आज (बुधबार) देखि शुरु हुँदैछ । उदघाटन खेल नेपालले पहिलो वरियताको पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर–१ टोली पाकिस्तानसँग खेल्न लागेको हो । खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजमले गर्नेछन् ।

नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको उपाधि जितिसकेको छ । मुल्तान मैदान ३० हजार दर्शक क्षमताको रहेको छ । आजका सबै टिकट बुकिङ भइसकेका छन् । पाकिस्तान आईसीसी एक दिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औं स्थानमा छ । नेपालले भदौ १८ मा भारतसँग श्रीलंकामा खेल्ने छ ।

एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । यो खेलपछि नेपाली टोली श्रीलंका जानेछ । भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु ९ खेल श्रीलंकामा हुनेछन् । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलंकाको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल पनि नेपाली समय अनुसार दिउँसो सवा ३ मा नै हुनेछ ।
नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।
यस्तो छ नेपालको सम्भावित प्लेइङ–११
कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर) भीम सार्की, रोहित कुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी ।

पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ–११
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७