संविधानले पुनः क्रान्तिको आवश्यकता अन्त्य गरेको छ : सभामुख घिमिरे


३ आश्विन २०८०, बुधबार
Devraj Ghimire

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्य व्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै सभामुख घिमिरेले संविधानको मर्म र भावनाअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने बताएका छन् । ‘संविधानले राज्यका अंगको निर्धारण, अधिकारको विभाजन र सन्तुलन (शक्ति पृथकीकरण) को बलियो प्रबन्ध गरेकाले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ । तर, संविधानको भावनाअनुरूप हिँड्दै नेतृत्वको चरित्र प्रजातान्त्रिक र लोकतान्त्रिक हुन जरुरी छ’, सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ ।

संविधान मुलुकको सर्वोच्च कानुन हो । संविधान जारी भएको पछिल्लो आठ वर्षमा संविधान कार्यान्वयनका धेरै काम सम्पन्न भएको र संविधानबमोजिम नै आवधिक निर्वाचनबाट निर्वाचित सरकार तीनवटै तहमा क्रियाशील रहेको उनको भनाइ छ ।

नयाँ संविधानको निर्माणसँगै गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षताजस्ता विषय संस्थागत भएको उल्लेख गर्दै सभामुख घिमिरेले समाजमा विद्यमान विभेद र असमानता अन्त्य गर्दै समृद्धि र सामाजिक न्यायको गन्तव्य संविधानमार्फत सुनिश्चित भएको बताएका छन् ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा संसद्ले विशेष ध्यान र सक्रियता दिएको उनको भनाइ छ । ‘संसद्ले एकाधबाहेकका कानुनहरू निर्माण गरिसकेको छ । तर, दीर्घकालीन असर गर्ने केही कानुनबारे छलफल र बहस भइरहेका छन् । आशा छ, जसरी सहमतिको जगमा संविधान निर्माण गरेका छौँ, संविधान कार्यान्वयन गर्न आवश्यक ऐनहरू राजनीतिक सहमतिबाटै टुंगोमा पुर्‍याउनेछौँ’, शुभकामना सन्देशमार्फत उनले भनेका छन्, ‘संविधानले विकास गरेका प्रणालीको सही सञ्चालन, व्यवस्थापन र कार्यान्वयन गर्न सकेमात्रै जनतालाई अनुभूत गराउन सक्छौँ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७