भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान


१८ आश्विन २०८०, बिहीबार
Bishal Singh Bista

काठमाडौं । एशियाली खेलकुदको भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले बिहीबार दुर्लभ कीर्तिमान बनाएका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ किलो तौल समूहमा विशालले तीन राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलो पटक ३०१ किलो वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरे ।

यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौल समूहमा जम्मामा तीन सय किलोसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक समेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिए ।
विशालले स्न्याचमा १३३ किलो, क्लिन एन्ड जर्कमा १६८ किलो र कुलमा ३०१ किलो भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । स्न्याचमा १२६ किलो, क्लिन एन्ड जर्कमा १६५ किलो र कुलमा २९१ किलोको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो । उनले उक्त कीर्तिमान केही साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए ।

स्न्याचमा भने विशालले दोस्रो लिफ्टमा नै १२७ किलो तौल उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए । पहिलो लिफ्टमा विशालले १२१ किलो तौल उचालेका थिए । त्यस्तै क्लिन एन्ड जर्कमा विशालले पहिलो लिफ्टमा १६१ किलो वजन उठाएका थिए । दोस्रो लिफ्टमा विशालले १६८ किलो वजन उचालेर राष्ट्रिय कीर्तिमान रचेपछि तेस्रो लिफ्टमा कीर्तिमान सुधार गर्ने प्रयासमा १७५ किलो तौल लोड गर्न लगाएका थिए । त्यसमा उनी सफल भएनन् । नेपालबाट ५ खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७