सामाजिक सदभाव भड्किंदैछ, राजनीतिक दल र नेता सचेत हुनुपर्छ : सांसद सापकोटा


१८ आश्विन २०८०, बिहीबार
Madhav sapkota 1
फाइल फोटो

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले देशमा सामाजिक सद्भाव भड्किन थालेको भन्दै राजनीतिक दल र शीर्ष नेतृत्व सचेत हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले नेपालगञ्ज, धरान तथा सिरहामा भएका घटनाले समाज बिथोलिने भय बढेको बताए ।

‘नेपालगञ्ज कर्फ्युले घेरियो, धरान र सिरहा पनि उस्तै भयो । देशभर जातीय र साम्प्रदायिक द्वन्द्वको श्रृंखला बढ्यो । सामाजिक सञ्जाल यति अराजक छ, चिकित्सक, प्राध्यापक सुरक्षित छैनन् । अराजकको श्रृंखला अघि आएको छ’, उनले भने ।
देशभर अराजकता बढ्दा संसद्मा त्यस विषयमा छलफल नभएको उनले बताए ।

नागरिकले संसद्प्रति तिखो नजरले हेरिरहेको भन्दै उनले सदनले जनताका आवाज बोक्न र घन्काउन नसकेको उल्लेख गरे । जनताका एजेण्डा छोडेर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विस्तृत शान्ति सम्झौताविपरीत अभिव्यक्ति दिँदै हिँडेको आरोप सांसद सापकोटाले लगाए ।

‘सदनको चित्र हेरौं, पूर्व प्रधानमन्त्री घण्टौँ भाषण गर्नुहुन्छ । अराजकता कन्ट्रोल गर्ने कुरा आउँदैन, जसवालको बारेमा सन्देश प्रशारण हुँदैन’, उनले थपे, ‘उल्टै विस्तृत शान्ति सम्झौता आकर्षित हुने संविधानको मर्मविपरीत बोल्ने ? देश–समाज कता जाँदै छ ? समाजले कोसँग आशावादी हुने ?’ समाज अनुशासित बनाउन सबैभन्दा पहिला राजनीतिक दल र नेताहरू स्वअनुशासनमा बस्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७