दसैंमा बज्ने १० कालजयी गीत, किन यतिधेरै रुचाइए ?


६ कार्तिक २०८०, सोमबार
Dashain Music1664188843

काठमाडौं । दसैं आउनु केही दिन अगाडिदेखि नै रेडियो / टिभीमा मङ्गल धुन बज्न थाल्दछ । त्यसरी बज्ने दशैं गीतले झनै दशैंमा रौनकता थपिदिन्छ नेपाली गीत संगीतको इतिहासमा दशैंसम्बन्धी गीतले ठूलो महत्व राखेको छ । संगीत क्षेत्रमा लागेका अधिकांशले चाडवाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दशैं गीत बज्ने गरे पनि दशैंभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ ।

विछोडको पिडा नसकी खप्न दशैंको बेलामा

दशैंसम्बन्धी गीत भन्ने वित्तिकै हामी यो गीतलाई सम्झिन्छौँ । कालजयी र नेपालीको दशैं झल्काउने आलाप बजेपछि दशैं आइसकेको अनुभूति हुन्छ । यो गीत दशैंसम्बन्धी पुरानो चर्चित गीत हो । सन् १९७० को दशकमा नारायण गोपालले दार्जिलिङमा गएर दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए । त्यसपछि कलकत्तामा नारायण गोपाल र दिलमाया खातीको स्वरमा रेकर्ड गरिएको युगल गीतकै ऐतिहासिक गीत पनि हो यो गीत । रेडियो नेपालमा दशैंको गीतमध्ये धेरै बजेको यो गीत अहिले सबै रेडियोले दशैंमा बजाउने गरेका छन् ।

नमुछे आमा दहीमा टीका

दशैं आउने वित्तिकै रेडियो / टिभीमा बज्ने यो गीतले पनि नेपाली मन दुख्ने गरेको छ । नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा राखेर गाएपछि दशैं गीतको चर्चित गीत बन्यो । भारतीय सेनामा रहेका रायमाझीका दाइ लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाइँ सन् १९९९ ताका यो गीत लेखेका थिए । नेपाली जनजीवनलाई बोकेको यो गीत यथार्थमा पनि मन छुने बनेको छ ।

दशैं नै हो कि यो मेरो दशा फर्किआएको

यो गीत पनि दशैंको गीतमध्येको चर्चित गीत हो । योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दशैं गीतकै फरक स्वाद पाइन्छ । बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ । न्यु बज्राचार्यको संगीतमा रहेको यो गीतको शब्द गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए । विसं २०५० ताका संवाद समेत हालेर बनेको यो गीत दशैंको परिचय जस्तै बनेको छ।

यसपाली दशैंमा ठूलो दाजु आउने रे

कुल पोखरेलको स्वरमा रहेको यो गीत दशैंसम्बन्धी गीतको अर्को चर्चित गीत हो । कूल पोखरेलको सम्झनामा अन्य गायकले पनि यो गीतको कभर गाएर युट्युबमा राखेका छन् । कुल पोखरेललाई दशैंमा मज्जाले सम्झाउने गीत हो यो । नेपाली गीत संगीतमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत बालबालिकाले समेत खुब मन पराउने गरेका छन् ।
यो दशैंमा म घर आइन
नेपाली लोकदोहोरी गीतमा दशैं गीत भन्ने वित्तिकै यो गीतको सम्झना आइहाल्छ । एसएसएस म्युजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले स्वरमा साथ दिएका छन् । लोकदोहोरी मन नपराउनेले पनि यो गीत दशैं गीतको दोहोरीमा ऐतिहासिक गीतको रुपमा लिएका छन् । परदेशबाट घर फर्किन नसकेका नेपालीको पीडा यो गीतमा समेटिएको छ ।
रातो टीका दशैंको जमरा

नेपाली चलचित्रमा पनि दशैं तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ । मनमन्दिर चलचित्रमा रहेको यो गीतले पनि दशैंको झल्को ल्याउँछ । नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य रहेको यो गीत अहिले पनि दशैंमा उत्तिकै बज्ने गर्दछ ।

दशैं आयो

नेपाली चलचित्र मुग्लानमा रहेको दशैं आयो गीत पनि दशैंमा अत्यधिक बज्ने गीतमा पर्दछ । पछिल्लो पुस्ताको युवामा यो गीत झनै चर्चित गीत हो । सुन्न मात्र होइन दशैंका कार्यक्रममा रमाइलोसँग यो गीतमा युवा पुस्ता नाचिरहेका हुन्छन् ।

वर्ष र दिनमा लै लै

सुगम पोखरेलको स्वरमा रहेको यो गीत पनि युवा पुस्ताले औधी रुचाएको दशैं गीत हो । रवि श्रेष्ठको शब्दमा तयार भएको यो गीतमा पनि स्रोताले दशैं गीतको फरक स्वाद लिने गरेका छन् । दशैंमा मात्रै नभएर अन्य समयमा पनि यो गीत पोखरेलले विभिन्न कार्यक्रममा गाउने गरेका छन् । नेपाली परिवेशमा यो गीतमा पनि परदेशीको व्यथालाई पनि समेटिएको छ ।
थालैभरि रातो रातो अक्षता र पाती
सुनिल गिरीको स्वर, संगीत र शब्दमा आएको यो गीत पनि केही वर्षदेखि नियमित चर्चामा छ । रिकेस गुरुङ्गले एरेन्ज गरेको यो गीत युट्युबमा धेरैले मन पराएका छन् । दशैंमा लाहुरे फर्किएको र गाउँको रमाइलो क्षणहरु समेटिएको गिरीको यो गीत पनि दशैं गीतमा रुचाइएको गीत हो ।
पर्देशबाट फरिया ल्याइदिउँला

शिव थापा मगरको स्वर, शब्द, संगीतमा रहेको यो गीत पनि चर्चा कमाएको दशैं गीत हो । उदयराज पौडेलको संगीत संयोजनसहित भाइब्स क्रियसनले बजारमा ल्याएको लोकपप शैलीको यो गीत पनि दशैंमा धेरैले सुन्न थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७