नेपालको पहिलो फर्पिङ जलविद्युत् आयोजनाको ड्याम्म


१४ कार्तिक २०८०, मंगलवार
Farping bidhyutn

काठमाडौँ दक्षिणकाली नगरपालिका–३ स्थित फर्पिङमा रहेको फर्पिङ लघु जलविद्युत् आयोजनाको ‘रिजर्भ’ पानी जम्मा गर्ने ड्याम्म । यो नेपालको पहिलो जलविद्युत् आयोजना हो । यहाँबाट उपत्यकाको दृश्य देखिन्छ । यस ड्यामको अवलोकन गर्न पर्यटक आउने गर्छन् ।

फर्पिङ जलविद्युत् आयोजनाको १९६८ जेठ ९ गते तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट साँझ साढे ६ बजेतिर टुँडीखेलमा बत्ती बालेर उद्घाटन भएको थियो । प्रधानमन्त्री चन्द्रशमशेर जबराको कार्यकालमा निर्मित उक्त जलविद्युत् आयोजनाको नाम चन्द्रज्योति राखिएको थियो । करीब ४ वर्ष लगाएर निर्माण गरिएको यो आयोजनाको लागत सो समयमा ७ लाख १३ हजार २७३ रुपैयाँ ८२ पैसा परेको बुझिन्छ ।

बेलायती उपकरण र प्राविधिकहरूको उपयोग गरेर बनाइएको यो आयोजनाले सत्मुले र शेष नारायण क्षेत्रका मूलहरूबाट पानी संकलन गरी सो पानी करीब २०० मिटर झारेर ५०० किलोवाट विद्युत् उत्पादन गरिएको थियो । उत्पादित विद्युत् करीब १२ किलोमिटर वर रहेको काठमाडौं शहरका विशेषगरी राणा परिवार र हुनेखाने नगरवासीलाई वितरण गरियो । त्यतिबेला विद्युत् संसारमै नौलो प्रविधि थियो ।

यद्यपि नेपालमा बेलायतीहरूको सहयोगमा सो प्रविधि भित्र्याइएको हो । यो चुनौतीपूर्ण कामको कार्यान्वयन गर्न तत्कालीन सरकारले राणा परिवारका वरिष्ठ सदस्यहरू नै परिचालन गरेको देखिन्छ । पद्मशमशेर राणा सो आयोजना प्रमुख थिए भने मोहनशमशेर र केशवशमशेरले मेशिनेरी सामानको ढुवानीको जिम्मा लिएका थिए । किशोर नरसिंह राणा कार्यकारी इन्जिनियर र कुमार नरसिंह राणा सुपरिटेण्डिङ इञ्जिनीयरको हैसियतमा कार्यरत थिए । तस्वीर : हरिराम भेटुवाल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७