रोहित र गुलशनको अर्धशतकमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य


१९ कार्तिक २०८०, आईतवार
nepal 2

काठमाडौँ । कप्तान रोहितकुमार पौडेल र गुलशनकुमार झाको अर्धशतक प्रेरित नेपालले आईसीसी टी-२० विश्वकप एशिया छनोट फाइनलमा ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहितकुमारले सर्वाधिक ५४ रन बनाए । २५ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे। रोहितले योसँगै टी२०आईमा पाँचौँ अर्धशतक पूरा गरे । ओमानविरुद्ध उनले ३६ बलमा ५ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए। ३१ जनाअरी २०१९ मा यूएईविरुद्ध डेब्यू गरेका उनले ३३औँ इनिङ्समा पाँचौँ अर्धशतक पूरा गरेका हुन् । उनले यसअघि मलेसिया, मंगोलिया, माल्दिभ्स र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए । करण केसी ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए ।

नेपालको खराब शुरूआत
नेपालले पहिलो विकेट तेस्रो ओभरको चौँथो बलमै गुमायो । बिलाल खानको बलमा ओपनर आशिफ सेख काश्यप प्रजापतीबाट क्याच आउट भए । उनले प्रहार गरेको बल एज लाग्दै प्वइन्टमा प्रजापतीबाट क्याच भएका हुन् । सेखले ६ बलमा १ छक्का मात्रै प्रहार गरे । नेपालले पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ४७ रन बनाएको थियो । लगत्तै तेस्रो नम्बरमा आएका सन्दीप जोरा १३ बलमा १ चौकासहित १० रन बनाउँदै जिशान मक्शूदबाट बोल्ड भए । उनले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग ३२ रनको साझेदारी गरे ।

आठौँ ओभरको पहिलो बलमा भुर्तेल पनि क्याच आउट भए । अकीब इलियासको बललाई छक्का प्रहार गर्ने चक्करमा डिप प्वइन्टमा मेहरान खानबाट क्याच भए । उनले २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाए । १०औँ ओभरको अन्तिम बलमा कुशल मल्ल अकीबको बलमा बोल्ड भए। उनले ९ बलमा ३ रन बनाए ।

रोहित र गुलशनको ७८ रनको साझेदारी
४–६० को स्थितिमा रहेको अवस्थामा पाँचौँ नम्बरमा आएका कप्तान रोहितकुमार पौडेल र छैटौँ नम्बरमा आएका गुलशनकुमार झाले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए ।

२५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै गुलशनले ५४ रन बनाए । उनको टी२०आईमा यो नै उनको पहिलो अर्धशतक हो । उनले ओमानविरुद्ध २० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन्। १९ फ्रेबुअरी २०२२ मा ओमानमा भएको विश्वकप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध डेब्यू गरेका उनले १३औँ इनिङ्समा पहिलो अर्धशतक पूरा गरेका हुन् । उनले पाँचौँ विकेटका लागि रोहितसँग ७८ रनको साझेदारी गरे । उनी १७औँ ओभरको अन्तिम बलमा स्क्वायर लेगमा शकील अहमदबाट क्याच आउट भए । उनी बिलाल खानको बलमा आउट भएका हुन् ।

बिवेककुमार यादव ३ बलमा १ रन बनाउँदै बिलाल खानबाट कट एन्ड बोल्ड भए। रोहित र करणले अविजित रहँदै ३२ रनको साझेदारी गरेका थिए । ओमानका बिलाल खानले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २६ रन खर्चिए । यता, अकीब इलियासले २ विकेट लिए । यस्तै, जिशान मक्शूदको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७