पोखरामा भिन्तुना र्‍यालीसहित नेपाल संवतको स्वागत गरिँदै


२७ कार्तिक २०८०, सोमबार
nepal sambat

कास्की । नेपाल संवतलाई राष्ट्रिय संवत्को रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको संरक्षण तथा आपसी भाइचाराको विकास गर्ने गरी पोखरामा नेपाल संवत् (नयाँ वर्ष) ११४४ लाई भिन्तुना र्‍यालीसहित भव्य स्वागतको तयारी गरिएको छ ।

नेवा खल : कास्कीले मौलिक तथा राष्ट्रिय संवतकाे स्वागतका लागि यही कात्तिक २८ गते बजारका विभिन्न क्षेत्रमा जातीय सांस्कृतिक पोसाकसहित र्‍यालीको आयोजना गनै लागिएको हो । नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरामा भिन्तुना र्‍याली आयोजना गरिने नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

उनका अनुसार यही कात्तिक २८ गते बिहान ७ः३० बजे पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शङ्खधर शाख्वाको प्रतिमामा माल्यार्पण गरिनेछ । त्यसपछि कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः लगायत विभिन्न जातीय समुदायको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना र्‍याली निकालिने छ ।

पृथ्वीचोकबाट सुरु हुने उक्त र्‍याली नयाँबजार महेन्द्रपुल, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेपछि समापन गरिने अध्यक्ष पालिखेले जानकारी दिए । पोखरा र आसपासमा रहेका नेवारी समुदायको झाँकी, बाजा तथा वेशभुषाको प्रस्तुति र प्रचारप्रसार गर्ने उद्देश्यले र्‍याली आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

र्‍यालीमा उत्कृष्ट हुने समूहमध्ये प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु सात हजार र तृतीय तथा सान्त्वना हुने समूहलाई नगद रु पाँच हजारका दरले पुरस्कारको समेत व्यवस्था गरिएको नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष अनिशा श्रेष्ठले जानकारी दिइन् । नेपालको मौलिक संवतका रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभुति शङ्खधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौँ, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल संवत् चलाएका हुन् । सरकारले नेपाल संवत्का प्रवद्र्धक साख्वालाई विसं २०५५ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७