अर्थतन्त्र सुधार्न सरकारले विशेष प्याकेज घोषणा गर्दैछ : प्रधानमन्त्री


१ मंसिर २०८०, शुक्रबार
Prachanda 5 2 scaled

तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोशिस भइरहेको बताएका छन् । आज (शुक्रबार) तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसका लागि एकतावद्ध भएर लाग्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गले अधिकार पाएका छन् । केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन । उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन् । बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ । देशको सुरक्षा अवस्था सामान्य छ । १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं । त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं ।’

प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र नेतृत्वको सरकारले देश र जनताका पक्षमा महत्वपूर्ण कामहरू गरेको दावी गरे । भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापित,जनतालाई सेवा दिने कुरामा आफू इमानदार भएर लागेको उनको भनाइ छ ।
‘भ्रष्टाचारका फाइलहरू खोलिँदैछ, यो प्रक्रिया रोकिन्न । सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका छन् । त्यसैले सरकारले गरेका राम्रा काम जनतामा लैजाउँ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको दावी गरे। उनले भने,’ तर दवावमुक्त भइसकेको छैन ।’ प्रधानमन्त्रीले दाहालले मंसिर ४ गते अर्थतन्त्र सुधार्न बृहत बैठक बोलाएको जानकारी दिएका छन् । उनले भने, ‘त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ । ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७