‘उद्योगीहरुलाई अपराधीलाई जस्तो व्यवहार गरियो’


१५ पुष २०८०, आईतवार
Byabasayi

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् उपयोग गरेका भनिएका व्यापारीहरुले आफूहरुले प्रयोग नै नगरेको बिजुलीको बिल आएको जिकिरि गरेका छन् । ठूलो मात्रामा बक्यौता रकम रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् उपयोग गरेका उद्योगको बिजुली काट्न थालेपछि व्यापारीहरुले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

आफूहरुले प्रयोग नै नगरेको बिजुलीको बिल देखाइएको भन्दै त्यस्तो रकम तिर्न नसकिने व्यवसायीहरुको भनाइ छ । उद्योगीहरुले यसअघि पनि प्राधिकरणले निर्धारण गरेको बिल अनुसारको रकम तिर्न नसकिने भन्दै आएका थिए ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्योगी पशुपति मुरारकाले बिजुली प्रयोग गरेको प्रमाण प्राधिकरणले दिनुपर्ने अनि मात्र आफूहरुले पैसा तिर्न बताए ।

‘बिजुली प्रयोग गरेको समयमा नै बिल पठाएको भए यो समस्या नै आउने थिएन । त्यो समयमा प्रयोग भएको र त्यो समयमा भएको बिलिङअनुसार कुनै पनि बक्यौता बाँकी छैन,’ उनले भने । डेडिकेटेड र ट्रंक लाइन बक्यौता महसुल विवाद झन् चर्किदै गएपछि केही दिन अघि पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल नर्तिने उद्योगहरु सबैको लाइन काटिने बताएका थि ए।

सर्वसाधारणले दैनिक १८ घण्टाभन्दा बढी समय लोडसेडिङ बेहोरिरहेको समयमा नेपाल विद्युत् प्राधिकरणले केही उद्योगहरुलाई भने २४सै घण्टा विद्युत् आपूर्ति हुने डेडिकेटेड लाइनमार्फत् बिजुली दिएको थियो । त्यस्तो विद्युत् उपभोग गरेका उद्योगहरुको बक्यौतालाई लिएर २०७२ सालदेखि विवाद रहँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७