कञ्चनपुरमा आजदेखि जलपंक्षी गणना सुरु


२१ पुष २०८०, शनिबार
Bird hutityau dang 1

कञ्चनपुर । कञ्चनपुरमा आजदेखि जलपंक्षी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंक्षी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एशोसिएसनलगायत सङ्घसंस्थाले जलपंक्षी गणना थालेका हुन् ।

जलपंक्षी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पंक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपंक्षी गणना हुनेछ । निकुञ्ज बाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपंक्षी गणना हुने चराविज्ञ डगौराले बताए । जलपंक्षी गणनामा ‘वाइनाकुलर टेलिस्कोप’ र ‘जिपिएस’ सहितको क्यामेराको प्रयोग गरिने छ । ‘हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रुपमै गणना हुन्छ’, उनले भने, ‘स्थलगत रुपमा हिँडेर पुग्न नसकिने ठाउँमा डुङ्गा र हात्तीमा चढेर जलपंक्षी गणना गर्छौं ।’

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, संख्याको अद्यावधिक गर्न हरेक वर्षको यसै दिनदेखि जलपंक्षी गणना हुँदै आएको छ । गणनाका क्रममा तालतलैयामा जलपंक्षीको संख्या यकिन गर्ने कार्यसँगै सीमसारको अवस्थाबारे अध्ययन हुनेछ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सीमसार क्षेत्र तथा तालतलैया, नदी तथा जलाधार क्षेत्रमा जलपंक्षी गणनको कार्य हुने डगौराले जानकारी दिए ।

कञ्चनपुरका सिमसार तथा जलाधार क्षेत्रमा प्रत्येक वर्षको हिउँदमा ५५ देखि ६० बढी प्रजातिका चरा बसाइँ सरेर साइबेरियालगायत उत्तरी ध्रुवबाट बसाइँ सरेर आउने गरेका छन् । रैथाने प्रजातिका जलपंक्षी समेत यहाँ रहेका छन् । उनका अनुसार सिमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले बसाइँ सार्दै पाहुना जलपंक्षी यहाँका सिमसार क्षेत्र, तालतलैया, नदीलगायत क्षेत्रमा पुग्ने गर्दछन् ।

चैतदेखि जेठसम्म पुनः पंक्षी साइबेरियालगायत क्षेत्रमा फर्कने गरेका छन् । नेपालमा आठ सय ७७ प्रजातीका चरा पाइने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा मात्रै रैथाने प्रजातिका चार सय २३ प्रजातिका चरा पाइने गरेका छन् । नेपालमा सन् १९८७ देखि नियमित रुपमा जलपन्छी गणना हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७