राष्ट्रिय सभाको उम्मेदवार छान्न बालुवाटारमा माओवादी पदाधिकारी बैठक


२२ पुष २०८०, आईतवार
Maobadi Baithak 1
फाइल फोटो

काठमाडौँ । आसन्न राष्ट्रियसभाको उम्मेदवार छान्न सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघिबाट बैठक सुरु भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिएका छन् । यसअघि आजै राष्ट्रिय सभाको सिट बाँडफाँडको विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धन दलको बैठक बसेको थियो । बैठकमा सिट बाँडफाँड टुङ्गिएको दावी गरे पनि नेकपा एकीकृत समाजवादीले चित्त बुझाएको छैन ।

गठबन्धन बैठक लगत्तै माओवादी केन्द्र आफ्नो पार्टीको पदाधिकारी बैठक बोलाएको हो । आगामी फागुन २० गतेबाट राष्ट्रियसभाको ६ वर्षे पदावधि सकिएका २० जना सदस्य बिदा हुँदैछन् । त्यसमध्ये राष्ट्रपतिले मनोनित गर्ने १ बाहेक १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

रिक्त २० मध्ये ६ सिट माओवादीले पाउने सम्भावना छ । फागुन २० बाट रिक्त हुने २० मध्ये माओवादीकै ३ सदस्य छन् । त्यसमा थप ३ सिट माओवादीले पाउने सम्भावना छ । कोशी प्रदेशसभामा माओवादीबाट बिना पोखरेल तथा सुदूरपश्चिम प्रदेशसभामा हरिराम चौधरी र महेशकुमार महराको ६ वर्षे कार्यकाल आगामी फागुन २० गते सकिँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७