६१ किलो सुन प्रकरण : १२ जनालाई थुनामा राख्ने आदेश उच्चद्वारा सदर, ६ जना धरौटीमा छुट्ने


११ माघ २०८०, बिहीबार
Gold galdai taskari 5

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका १७ जनामध्ये १२ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश उच्च अदालत पाटनले सदर गरेको छ ।

१७ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेशमा गरिएको पुनरावेदनमाथि उच्च अदालत पाटनले बुधबार फैसला गरेको हो । दावा छिरिङ, टाँसी भन्ने धुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलीप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई पुर्पक्षका लागि थुनामा राख्ने फैसलालाई उच्च अदालतले सदर गरेको छ । त्यस्तै, बाँकी ६ जनालाई धरौटीमा छाड्ने फैसला उच्च अदालत पाटनले गरेको छ ।

छाडिएकामध्ये कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टबाट जनही एक लाख रुपैयाँ, गणेशप्रसाद पौडेल र वीरेन्द्र नेपालीबाट जनही पाँच लाख र सुदर्शन गौतम र यादव पराजुलीबाट जनही दुई लाख रुपैयाँ धरौटी लिन पनि उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार जिल्लाको आदेशविरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै बुधबार न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले यो फैसला गरेको हो ।

अहिलेसम्मै एकै पटक भएको ठूलो सुन तस्करी काण्डमा राजश्व अनुसन्धान विभागले सुनसहित ट्याक्सी चालक विमानस्थल बाहिर पक्राउ गरेको थियो । गत असोज १९ गते जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले पुर्पक्षका लागि २५ जनालाई थुनामा राख्न र एकजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । तस्करीमा चिनियाँ नागरिकहरुसमेत पक्राउ परेका छन् । उनीहरुले जिल्लाको आदेशविरुद्ध निवेदन दिएका छैनन् । सुरुमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरे पनि उक्त सुन काण्डको अनुसन्धान गर्न पछि सिआइवीलाई जिम्मेवारी दिइएको थियो ।

सिआइवीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सुन तस्करीमा संलग्नहरुविरुद्ध संगठित अपराध निवारण ऐन २०७०, भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा दर्ता गरेको छ । सुरुमा एक सय किलो सुन बरामद भएको भनिए पनि पछि गाल्दा ६० किलो ७१६ ग्राम सुन पाइएको थियो । यो प्रकरणमा ५० जना संलग्न रहेको सिआइबीको निष्कर्ष छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७