अबको हाम्रो अभिष्ट समाजवाद उन्मुख अर्थतन्त्रको विकास : पूर्व राष्ट्रपति भण्डारी

‘नेपालको आधुनिक इतिहासमा फागुन ७ को विशिष्ट महत्व छ’


७ फाल्गुन २०८०, सोमबार
Former President Bidya Devi Bhandari

काठमाडौं : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताएकी छिन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामा दिदै भण्डारीले भनेकी छिन्, ‘ नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको छ । २००७ सालको जनक्रान्तिले नै एकातर्फ राणाहरूको निरङ्कुश पारिवारिक शासनको अन्त गरी प्रजातन्त्रको स्थापना गरेको थियो भने अर्कोतर्फ बन्द नेपाली समाजलाई खुलापन र आधुनिकतातर्फ अघि बढ्न मार्ग प्रशस्त गरेको थियो ।’

सात दशकभन्दा लामो अवधिमा पनि निरङ्कुश शासकहरूबाट पटक–पटक प्रजातन्त्रको गला रेट्ने प्रयत्न भए पनि जनताले २००७ सालको परिवर्तनले विजारोपण गरेको नागरिक चेतनाकै जगमा उभिएर निरङ्कुशताको विरुद्धमा संघर्ष गरेको पूर्व राष्ट्रपति भण्डारीको भनाई छ ।

अबको अभिष्ट समाजवाद उन्मुख अर्थतन्त्रको विकास रहेको पनि बताएकी छिन् । भनेकी छिन्, ‘ अब हामीले लोकतन्त्र र राजनीतिक अधिकार प्राप्तिका लागि गरिने आन्दोलनको चरणलाई पार गरिसकेका छौँ । तसर्थ, अबको हाम्रो मूल अभिष्ट र गन्तव्य भनेको जनताको जीवनस्तरमा सुधार गर्दै संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको विकास हुनु पर्दछ ।’

शुभकामना सन्देशको पूर्ण पाठ
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । मुलुकमा तानाशाही र निरङकुश शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको छ । २००७ सालको जनक्रान्तिले नै एकातर्फ राणाहरूको निरङ्कुश पारिवारिक शासनको अन्त गरी प्रजातन्त्रको स्थापना गरेको थियो भने अर्कोतर्फ बन्द नेपाली समाजलाई खुलापन र आधुनिकतातर्फ अघि बढ्न मार्ग प्रशस्त गरेको थियो ।

त्यसपछिका सात दशकभन्दा लामो अवधिमा पनि निरङ्कुश शासकहरूबाट पटक–पटक प्रजातन्त्रको गला रेट्ने प्रयत्न भएको थियो । तर २००७ सालको परिवर्तनले विजारोपण गरेको नागरिक चेतनाकै जगमा उभिएर निरङ्कुशताको विरुद्धमा नेपाली जनताले गरेको निरन्तर संघर्षकै प्रतिफलस्वरूप आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका छौँ ।

कुनै पनि राजनीतिक व्यवस्था वा शासन प्रणालीको सफलता तब स्थापित हुन्छ, जब त्यस प्रणालीले जनताको जीवनमा सार्थक परिवर्तनको अनुभूति प्रदान गर्दछ । हामीले स्थापना गरेको लोकतान्त्रिक प्रणालीको स्थायित्वको लागि पनि समाजमा व्याप्त गरिबी, बेरोजगारी र सामाजिक विभेदहरूलाई अन्त गरी जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक छ । यसका लागि मुलुकमा उद्योग र उद्यमशीलताको विकासमार्फत सुदृढ र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण अपरिहार्य हुन्छ । सबल र सुदृढ अर्थतन्त्रको विकासविना संविधानले सुनिश्चित गरेका मौलिक हकहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिदैन ।

अब हामीले लोकतन्त्र र राजनीतिक अधिकार प्राप्तिका लागि गरिने आन्दोलनको चरणलाई पार गरिसकेका छौँ । तसर्थ, अबको हाम्रो मूल अभिष्ट र गन्तव्य भनेको जनताको जीवनस्तरमा सुधार गर्दै संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको विकास हुनु पर्दछ । यसका लागि लोकतान्त्रिक आन्दोलनलाई नेतृत्व गरेका राजनीतक दल र तिनका नेताहरूले क्षणिक सत्ता स्वार्थभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि सिद्धान्तनिष्ट र इमान्दार भएर काम गर्नु पर्दछ ।

अन्तमा, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षार्थ भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७