वडा कार्यालयभित्रै युवतीको शव भेटियो, सीसीटीभी जाँच्दै प्रहरी


१३ फाल्गुन २०८०, आईतवार
kanchanpur

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयभित्र एक युवतीको शव भेटिएको छ । आइतबार बिहान वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

‘बिहान योगा गर्न जाने मान्छेले शव देखेका रहेछन् । ४ बजे हामीलाई खबर आएको थियो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले सुनाए, ‘अहिले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ ।’ दार्चुलाबाट माइती पक्ष आइरहेकाले त्यसपछि घटना विवरण खुल्ने उनको भनाइ छ ।

मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका–१नगर प्रहरीकी श्रीमती हुन् । प्रेम सम्बन्धपछि केही महिना पहिले उनीहरुले बिहे गरेका थिए । नगर प्रहरीलाई वडा कार्यालयमा ‘क्वार्टर’ दिइएको थियो । श्रीमतीसहित उनी वडा कार्यालयको क्वार्टरमा बस्ने गरेका थिए । घटनाबारे दार्चुलामा रहेका माइती पक्षलाई खबर गरिएको छ । माइती पक्ष पुगेपछि शव पोस्टमार्टमका लागि लगिने प्रहरीले जनाएको छ । प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच गर्नुका साथै मृतकका श्रीमान्सँग सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७