रास्वपा सभापति लामिछानेले भेटे प्रधानमन्त्री


२० फाल्गुन २०८०, आईतवार
Prachanda and Rabi Lamichhane

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् । दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरु विरोधमा उत्रिएका थिए । आन्दोलनरत पक्षसँग सरकारले २१ चैतभित्र बक्यौता चुक्ता गर्ने सहमति शनिबार गरिसकेको छ ।

दुग्ध किसानका समस्या र पार्टीको कृषि विभागले तयार गरेको समाधानका उपायका बारेमा प्रधानमन्त्रीसँग पार्टी सभापतिले ध्यानाकर्षण गराएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी गराइन् । चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा फागुन १२ गते शालिन मृत अवस्थामा भेटिएकी थिइन् ।

कक्षा ८ मा अध्ययनरत छात्राको मृत्यु भएको एक साता बित्दा पनि उनको हत्या वा आत्महत्या आधिकारिक विवरण सार्वजनिक भएको छैन । शालिनको हत्या भएको भन्दै परिवारजनले छानबिनको माग गर्दै आएका छन् । यता आजै प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्ट भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्याय (टीआरसी) विधेयकमा सहमति जुटाउन ओली–देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा दुबै नेता टीआरसी विधेयक टुङ्गो लगाउने विषयमा सहमत भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७