नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई राख्ने माओवादीको निर्णय, सरकारमा जाने/नजाने अन्योलमा नेकपा एस


२१ फाल्गुन २०८०, सोमबार
Prachanda Madhav

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि राख्ने निर्णय गरेको छ ।

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई एमालेसमेत रहको नयाँ गठबन्धनमा राख्ने माओवादीले निर्णय गरेको हो । वाम एकताका लागि एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा समेट्नुपर्ने माओवादीको निष्कर्ष छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे माधव नेपाललाई कन्भिस गराएर नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने तयारी माओवादीको छ ।

सरकारमा जाने/नजाने अन्योलमा नेकपा एस
नेकपा (एकीकृत समाजवादी) नयाँ गठबन्धनमा सामेल हुने कि नहुने अन्योलमा देखिएको छ । नेकपा माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट आज सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ ।

तर एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजानेबारे केही निर्णय गरिसकेको छैन । पार्टीले सचिवालय बैठक बोलाएको छ । महासचिव घनश्याम भूसालले आज अपराह्न ३ बजे सचिवालय बैठक बस्ने जानकारी दिए ।

‘हामीले नयाँ राजनीतिक घटनाक्रमलाई हेरिरहेका छौं, यो गठबन्धन कसरी बन्छ, कुन–कुन पार्टी सहभागी हुन्छन् र यसको नीति के हुन्छ भन्ने आधारमा हामी निर्णय गर्छौं,’ भूसालले भने, ‘हाम्रो राजनीति, नेताहरू र राजनीतिक उतारचढावका आधारमा यो अन्तिम गठबन्धन चाहिँ होइन ।’

अध्यक्ष माधवकुमार नेपाललाई बिसञ्चो भएकोले सचिवालय बैठक कोटेश्वरस्थित उनकै निवासमा बस्नेछ । गए राति बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुँदा एकीकृत समाजवादीबारे पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७