झलनाथ खनाल भन्छन्–औपचारिक प्रस्ताव आए सरकारमा सहभागी हुन्छौं


२२ फाल्गुन २०८०, मंगलवार
jhalanath khanal 2
फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन् ।

नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रस्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताएका हुन् । आज (मंगलबार) डल्लुस्थित आफ्नै निवासमा कुराकानी गर्दै उनले सरकारमा सहभागी हुनका लागि सत्ता गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने शर्त समेत राखे ।

एकीकृत समाजवादीले बुधबार बिहान मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौँ भन्ने खाका प्रस्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रतिक्रिया दिए ।

सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उनको अडान थियो । नेता खनालले सत्तारुढ गठबन्धनले सहमतिका साथ जानका लागि गरिएको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताए । उनले भने, ‘अब अहिले जुन जुन पार्टीहरुबीचमा एउटा समझदारी बनेर यो परिवर्तनको क्रम सुरु भएको छ, त्यसमा औपचारिक रुपले हाम्रो पार्टी छैन । व्यक्ति–व्यक्तिले के–के भूमिका खेले होलान्, त्यो भिन्दै कुरा भयो । तर औपचारिक रुपमा पार्टीलाई यस प्रोसेसमा संलग्न नगराइएको परिस्थिति निर्माण भएको हुनाले अब हामीले सामान्यतया यो घटनाक्रमलाई हामी विरोध गर्दैनौं । हामी यो घटनाक्रमलाई गहिरोसँग वाच गरिरहेका छौँ । विश्लेषण पनि गर्दैछौं ।’

यदि यो प्रोसेसमा हाम्रो पार्टीलाई संलग्न गर्नुपर्छ भन्ने आवश्यकता यो परिवर्तन गर्ने पार्टीहरुबीचमा त्यो समझदारी बन्यो, हामीसँग पनि वार्ता भयो र एउटा सम्मानजनक ढंगले सहमति गरेर जाउँ भन्ने खालको कुरा आयो भने हामी त्यसलाई अस्वीकार गर्दैनौं । यसलाई सकारात्मक ढंगले नै लिन्छौं । तर हामीलाई संलग्न गरिदिनोस् भनेर त्यो याचना गर्न चाहिँ जाँदैनौं ।’ नेता खनालले आफ्नो पार्टीले वाम एकताको पक्षमा भइरहेको प्रयत्नलाई झनै प्रखर ढङ्गले अघि बढाउने बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई संकटबाट जोगाउने आशा आफूहरुमा पलाएको समेत बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७