वन अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२३ फाल्गुन २०८०, बुधबार
Akhtiyar

काठमाडौं । सुर्खेतको सिम्ता गाउँपालिका–५ मा निर्माण भएको हाइटेक नर्सरीमा भ्रष्टाचार गरेको आरोपमा वन अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्रकुमार केसी, डिभिजन वन कार्यालय सुर्खेतकाका तत्कालीन डिभिजन वन अधिकृत गोविन्दप्रसाद दाहालसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

बाँझो तथा खाली जमिनमा वृक्षारोपण तथा जडिुबटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भइ निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआइ ८४ लाख ८६ हजार ६४२ रुपैयाँ बराबरको सरकारी रकम हानीनोक्सी गरेको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

वन अधिकृत दाहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल र तत्कालीन लेखापाल लक्ष्मी थापा क्षेत्रीमाथि सम्झौता शर्तबमोजिमको कार्य नगरेको, सिम्ता हाइटेक नर्सरी उपभोक्ता समितिलाई रकम भुक्तानी गरेको, उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षारोपण तथा जडिबुटी खेती विस्तार कार्यक्रम प्रयोगमा नल्याएको आरोप छ ।

उनीहरूविरुद्ध ८४ लाख ८६ हजार ६४२ रुपैया बिगो असुल उपर समेतको सजाय माग गरिएको अख्तियारले जनाएको छ । यसैगरी सिम्ता सव–डिभिजन वन कार्यालयका तत्कालीन भोजप्रसाद उपाध्यायको सिफारिसमा सिम्ता गाउँपालिका–५ मा निर्माण हुने हाइटेक नर्सरी निर्माणमा हुने सामाग्रीको खरिद र ढुवानीवापतको रकम भुक्तानीका लागि ७१ लाख ६६ हजार ४३५ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी भएको पुष्टि हुन आएको छ ।

निर्माण सामाग्री र ज्यामीको रकम निकासको लागि कागजात र विल भर्पाइ अनुसार रकम भुक्तानी भनी तत्कालीन रेन्जर कमल चित्रकारको सिफारिसमा ८ लाख ६१ हजार ३२८ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी भएको देखिन आएकाले उनीविरुद्ध सोही रकम बराबरको बिगो माग गरेको अख्तियारले जनाएको छ ।

सिम्ता हाइटेक नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महरा, उपभोक्ता समितिका सचिव चन्द्रप्रकाश थापा र उपभोक्ता समितिका कोषाध्यक्ष मिना पोखरेल हमालले उपकरण खरिदमा अनियमितता गरेको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध पनि ८४ लाख ८६ हजार ६४२ रुपैयाँ बिगो मागिएको छ । सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्रकुमार केसी , वडा –का तत्कालीन वडाअध्यक्ष मोहनकुमार विसी र NAF SEEDS का सञ्चालक गौतम महर्जनमाथि पनि नर्सरी निर्माणमा सरकारी रकम हानी नोक्सानी गरेको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७