अख्तियारले ‘अठ्याउन’ लागेको सुइँको पाएपछि मेयर महर्जन ‘सुटुक्क’ मुस्ताङतिर


२५ फाल्गुन २०८०, शुक्रबार
Gajendra maharjan

काठमाडौं । भ्रष्टाचार र अनियमितताका घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियताका कारण अहिले गलत कर्म गरेका धेरैको निन्द्रा हराएको छ । पछिल्लो समय अख्तियारले ठूला भ्रष्टाचार र अनियमितताका घटनाहरुलाई कारवाहीको दायरमा ल्याईरहेको छ ।

अहिले अख्तियारले ‘अठ्याउने’ सुइँको पाएपछि ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको पनि निन्द्रा हराएको छ । अख्तियारले डाम्ने निश्चित जस्तो लागेपछि बच्नका लागि उनले अनेक उपायहरुको खोजी गरिरहेका छन् । मेयर महर्जन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीदेखि प्रवीन कोइरालासम्मलाई अख्तियारले डाम्ने निश्चित जस्तो छ । अख्तियारको आँखा आफूतिर परेको भेउ पाएपछि बेचैन बनेका मेयर गजेन्द्र अहिले ठूला नेताको ढोकामा दौडधूप लगाउनुका साथै मनलाई शान्त बनाउन मन्दिरमा तीर्थ भाकल गर्न बाँकी राखेका छैनन् । उनीमाथि नगरपालिकाको ढुंगा गिट्टी निकासी करबापत संकलित कर सम्बन्धित कम्पनीलाई फिर्ता दिएको अभियोग लागेको छ ।

करिब डेढ करोड रूपैयाँ रकम फिर्ता दिनेसम्बन्धी उक्त निर्णयमा तत्कालीन कार्यपालिका सदस्यको रूपमा हस्ताक्षर गरेका केही इमान्दार वडाध्यक्ष र कार्यपालिका सदस्य आफूहरूलाई पनि त्यो केसले तान्छ कि तान्दैन ? भन्दै कानुन व्यवसायीसँग परामर्श गरिरहेका छन् भने मेयर भने अख्तियारलाई दबाब दिन कांग्रेस सभापति शेरबहादुर देउवा निवासदेखि देवी देवताका मन्दिरमा भाकल गर्दै हिँडेका छन् ।

यसरी हिँड्ने क्रममा उपमेयर मुना अधिकारीका नाममा फर्जी पास बनाएर दुईटा सरकारी गाडीसहितै १५ दिनको ‘रिफ्रेसमेन्ट टुर’ मा गएका छन् । फागुन ५ देखि २५ गतेसम्मको नाममा अनिश्चित कार्यक्रमको खाली अनुमति जिल्ला प्रशासन कार्यालय ललितपुरको नाममा जारी गराएर पारिवारिक तीर्थाटन चलिरहेको छ । बा २ झ ३४३३ नम्बरको स्कोर्पिओ गाडी जुन नियमित उपमेयर अधिकारीले चढ्ने गरेकी थिइन् । त्यसमा मेयरकी श्रीमतीलाई अगाडिको सीटमा राखिएको छ । उपमेयर शैलीमा बसेकी पत्नी ट्राफिकको फन्दामा परेपछि घटना छताछुल्ल बनेको छ ।

महर्जनको निर्णयलाई कसैले छलफल नै नगरी पास गर्ने गरेका कारण अख्तियारले थुप्रै प्रश्न उठाएको स्रोतको दाबी छ । अधिकांश निर्णय मेयर र प्रमुख प्रशासकीय अधिकृतको सेटिङमा हुने गरेका थिए । महर्जनले आफूलाई अख्तियारले कामै गर्न नदिएको भन्दै कुरा मिलाइ दिन शेरबहादुर देउवा गुहारेका थिए । तर, देउवाले उल्टै हप्काएर पठाइ दिए । कुनै समय देउवाका विश्वासिला मानिने मदनबहादुर अमात्य, मदनका खास मानिने चिरिबाबु महर्जन र गजेन्द्र महर्जनलाई शेरबहादुरले नराम्ररी झपारेको स्रोत बताउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७