गाडिएको १२ वर्षीय बालकको शव प्रहरीद्वारा बरामद, हत्या आशंकामा बुवा–आमा पक्राउ


२५ फाल्गुन २०८०, शुक्रबार
death palce

वीरगञ्ज । वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा–आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शव निकालेर प्रहरीले बालकका बाबा–आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका–१३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दिलिप मण्डल धानुकको शब निकालेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । थापाका अनुसार प्रहरी तथा छिमेकीलाई समेत खबरै नगरी शव गाडेको हुँदा घटना शंकास्पद देखिएको छ । वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले आर्यघाटबाट शव निकालेको थापाले बताए ।

आमा–बुबाले बिहीबार घरकै एक कोठामा दिलिपलाई थुनेर ज्याला मजदुरीका लागि घरबाट निस्किएको छिमेकीले बताएका छन् । प्रहरी नायब उपरीक्षक थापाका अनुसार कामबाट बिहीबार साँझ घर फर्किदा दिलिप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको बुबा शम्भुले स्विकार गरेका छन् ।

दिलिप लागू पदार्थको कूलतमा फसेको र अरुको घरघरमै पसेर मोबाइललगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफूहरु कामका लागि बाहिर जाँदा दिलिपलाई कोठामै थुनेर जाने गरेको बुबा दिलिपले प्रहरीसमक्ष बयान दिएका छन् । दिलिपको शवलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७