सुन प्रकरणमा पक्राउ परेका महरा छुटे, उपचारका लागि नर्भिकमै भर्ना


९ चैत्र २०८०, शुक्रबार
krishna bahadur mahara

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । आज (शुक्रबार) जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएसँगै उनलाई हाजिरी जमानीमा छोडेको हो ।

महरालाई छोराको जिम्मा लगाएर हाजिरी जमानीमा छाडेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । हिरासतमुक्त भए पनि उनीमाथि अनुसन्धान भने जारी रहनेछ । सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

चैत्र ५ गते सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको थियो । कमजोर स्वास्थ्य अवस्थाका कारण महरालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पतालबाटै बयान दिन जिल्ला सरकारी वकिलको कार्यालय पेश गरेको थियो । सरकारी वकिलबाट छुटेपछि उनी उपचारका लागि नर्भिकमै भर्ना भएका हुन् ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका उनीमाथि चार दिनको म्याद लिएर सीआईबीले अनुसन्धान गरेको थियो । गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम मुछिएपछि अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । अघिल्लो पटक सीआइबीले उनीमाथि बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल महरा हाल पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७