विराट गोल्डकप : एनआरटीलाई पराजित गर्दै सिक्किम सेमिफाइनलमा


१९ चैत्र २०८०, सोमबार
Birat Gold cup

मोरङ । भारत सिक्किमको ड्रेगन फुटबल क्लब ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराट गोल्ड कप ट्रष्टले विराटनगरको सहिद रङ्शालामा आयोजना गरेको रात्रिकालीन प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा ड्रेगन फुटबल क्लबले काठमाडौँको न्यूरोड टिम (एनआरटी) लाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

सिक्किमका लागि ह्यारिसन र आदर्श तामाङले एक एक गोल गरेका थिए । यस्तै एनआरटीका लागि शिशिर लेखीले एक गोल गरेका थिए । मध्यान्तर आगाडि खेलको ४०औँ मिनेटमा शिशिरले गोल गरी एनआरटीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५९औँ मिनेटमा सिक्किमका ह्यारिसनले गोल गरी खेल बराबरीमा पुर्‍याएका थिए ।

निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर एक सय १९औँ मिनेटमा सिक्किमका आदर्श तामाङले विजयी गोल गरी आफ्नो टोलीलाई सेमिफाइनमा पुर्‍याएका थिए । उनी आजको खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए । तामाङले रु ११ हजार पुरस्कार प्राप्त गरे । सोमबार चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७