प्रचण्डको निर्देशन विपरीत विश्वासको मत लिने तयारीमा कर्णालीका मुख्यमन्त्री शर्मा

एमालेलाई सत्ता सुम्पिने विषयले माओवादीभित्र ‘किचलो’


२० चैत्र २०८०, मंगलवार
mao karnali

कर्णाली । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताको साँचो नेकपा एमालेलाई सुम्पिने सहमति गरेसँगै कर्णाली प्रदेशमा माओवादीभित्र ‘किचलो’ उत्पन्न भएको छ ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला अध्यक्ष प्रचण्डले नयाँ सहमति अनुसार एमालेलाई प्रदेशको नेतृत्व छाड्ने निर्देशन दिएपछि माओवादीभित्र विवाद सिर्जना भएको हो । तर, अधयक्ष प्रचण्डको निर्देशन विपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा विश्वासको मत लिने तयारीमा अगाडि बढेका छन् ।
कर्णाली प्रदेश सभाको बैठक आज (मंगलबार) दिउँसो ३ बजे बोलाइएको छ ।

‘केन्द्रको निर्देशन ढिला गरी आयो, प्रक्रिया अघि बढिसकेको हुनाले रोक्न नसकिने भनेर हामीले जानकारी गराइसकेका छौं । अहिलेसम्मको परिस्थतिअनुसार विश्वासको मत लिने भन्ने नै छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक रनसिंह परियारले सुनाए ।
सोमबार बिहान बालुवाटारमा तीन दल (नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी) का अध्यक्षसहितको छलफलपछि बागमतीमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई विश्वासको मत दिने र कर्णालीको मुख्यमन्त्री नेकपा (एमाले) ले लिने समझदारी भएको थियो ।

सोहीअनुसार प्रधानमन्त्री प्रचण्डले कर्णालीमा पार्टी इन्चार्ज कालिबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत लिने प्रक्रिया रोक्न निर्देशन दिएका थिए । तर चैत १८ गते नै संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराइसकिएकाले अघि बढ्नुपर्ने अवस्था आएको प्रमुख सचेतक परियारले बताए ।

‘प्रदेश इन्चार्ज ज्यू आउँदै हुनुहुन्छ । उहाँसँग छलफल गरेर अघि बढ्छौं । तथापि विश्वासको मत लिने कुरा नै छ,’ परियाले भने । कर्णालीमा मुख्यमन्त्री छाड्ने विषले माओवादीभित्र किचलो उत्पन्न भएको छ । पार्टी उपमहासचिव जनार्दन शर्माले माओवादी केन्द्रको जनाधार रहेको कर्णालीको मुख्यमन्त्री छाड्न नहुने अडानमा छन् । उनले पार्टीका बैठकहरूमा यही अडान राख्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले एमालेसँग सहमति गरिसकेकाले विषय सहजै नटुंगिने एक नेताले बताए।

कर्णालीमा मुख्यमन्त्री उपमहासचिव शर्मा निकट हुन् । कर्णालीमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ । उसका १४ सांसद छन् । दोस्रो ठूलो दल माओवादी केन्द्रमा १३ सांसद छन् । एमालेका १० सांसद छन् । एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्रका एक–एक सांसद रहेका छन् । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन २० मत आवश्यक हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७