५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेस


२६ चैत्र २०८०, सोमबार
hikmat

मोरङ । नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । सोमबार प्रदेश प्रमुख समक्ष कार्कीले दाबी पेश गरेका हुन् ।

कार्कीले एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि आह्वान अगावै दाबी पेश गर्नुको कारण हालका मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको, सांसदहरूले समर्थन फिर्ता लिएको जनाउ भएको बताए ।

भण्डारीले भने ‘हामीले मुख्यमन्त्रीमा दाबी गरेर प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको आह्वान गर्न दबाब दिएको र अहिलेका मुख्यमन्त्री अल्पमतमा परेको जनाउ गरेका हौँ।’ भण्डारीले मुख्यमन्त्री केदार कार्कीले अब, राजीनामा दिनुपर्ने नभए प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने दुई वटा मात्रै विकल्प बाँकी रहेको बताएका छन् ।

कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्दछ । कोशीमा एमालेका ४० र नेकपा माओवादी केन्द्रका १३ गरी ५३ सांसद छन् । एमालेबाट निर्वाचित उपसभामुखलाई गणना नगरी ५२ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरिएको छ । सत्तारुढ गठबन्धनका दलहरू नेकपा एकीकृत समाजवादी र जसपाका सांसदहरूले भने हिक्मत कार्कीको पक्षमा हस्ताक्षर गरेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७