रक्षा र भौतिक मन्त्री लिएर ओलाङचुङगोला पुगे ओली


२९ चैत्र २०८०, बिहीबार
kp

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन् । सडक र सीमा क्षेत्र अवलोकनका लागि रक्षामन्त्री हरि उप्रेती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई लिएर अध्यक्ष ओली बिहीबार पूर्वी नाका ओलाङचुङगोला पुगेका हुन् ।

उनी पूर्वी नाका ओलाङचुङगोला अवलोकनका लागि गएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । ओलीसहित मन्त्रीहरू र सचिव भट्टराई नेपाली सेनाको हेलिकप्टर चढेर गएका हुन् । ‘ओलाङचुङगोलासम्म ट्रयाक बिस्तार भएको छ । अब चीनको सीमासम्म जोड्न २२ किलोमिटर जति बाँकी छ । ट्रयाक र सीमाक्षेत्रका अवलोकनका लागि मन्त्रीहरू आउनु भएको हो । अध्यक्ष ज्यूले पनि पहिलेदेखि नै आउने इच्छा राख्नु भएको थियो,’ सचिव भट्टराईले सुनाए ।

अध्यक्ष ओली बिहीबार नै काठमाडौं फर्कने उनले जानकारी दिए । निर्माणाधीन तमोर करिडोरले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोलालाई भर्खरै जोडेको छ । गत फागुन ८ गते तमोर करिडोरको ट्रयाक ओलाङचुङगोलासम्म जोडिएको थियो । त्यहाँबाट चीनको सीमासम्म २२ किलोमिटर ट्र्याक खन्न बाँकी रहेको छ । तीन हजार २०० मिटर उचाइमा रहेको ओलाङचुङगोलासम्म पुग्ने ट्र्याक खन्ने काम २०७४ फागुनबाटै सुरू भएको थियो । कोरोनाका कारण गति लिन नसकेको निर्माणकार्य ६ वर्षपछि पूरा भएको हो ।

नेपाल, भारत र चीन जोड्ने तमोर करिडोर त्रिदेशीय सडक मार्गसमेत हो। भारतसँगको सिमाना विराटनगरको रानीदेखि धनकुटा मूलघाट हुँदै पाँचथरको सुभाङखोला–अमरपुर, ताप्लेजुङको फुङ्लिङ–ओलाङ्चुङगोला–टिपतालासम्म सडकको दुरी २९९ किलोमिटर छ । हाल तमोर करिडोर सडकअन्तर्गत रानीदेखि मूलघाटसम्म कालोपत्रे भइसकेको छ । मूलघाटदेखि सुभाङखोलासम्म कालोपत्रे निर्माणको क्रम जारी रहेको छ । बाँकी सडकमा पनि स्तरोन्नति र स्तरवृद्धिको काम निरन्तर भइरहेको ताप्लेजुङका सांसद रहेका भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७