एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई


१ बैशाख २०८१, शनिबार
amale

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई चयन गरेको हो । अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मत पाएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताए । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित भएका थिए ।

पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भएका छन् । पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी भएका छन् । समावेशी उपसचिवमा कविता राई विजयी भएकी छन् । आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिएका छन् ।

यसैगरी, एक जना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी भएका छन् । दलित कोटामा चार जनाको प्रतिस्पर्धा भएको थियो । दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी भएकी छन् । उक्त कोटामा तीन जनाको प्रतिस्पर्धा भएको थियो ।

खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी भएका छन् । खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भएका छन् । पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७