टाउको जोडिएका सबै भन्दा जेठा जुम्ल्याहाको मृत्यु


२ बैशाख २०८१, आईतवार
twins

काठमाडौं । अमेरिकाको पेन्सिलभेनियामा टाउको जोडिएका सबै भन्दा जेठा जुम्ल्याहाको निधन भएको छ । ६२ वर्षीय लोरी र जर्ज शापेलको यही अप्रिल ७ मा हस्पिटल अफ द युनिभर्सिटी अफ पेन्सिलभेनियामा मृत्यु भएको समाचार संस्था एपीले जनाएको छ ।

गिनिज वर्ल्ड रेकर्डले उनीहरूलाई टाउको जोडिएर जीवित रहेका सबैभन्दा जेठा जुम्ल्याहाका रूपमा नाम राखेको थियो । उनीहरूको मृत्यु के कारणले भएको भन्नेबारे विस्तृत खुलाइएको छैन । टाउको जोडिएका उनीहरूको छुट्टाछुट्टै मस्तिष्क छ । उनीहरूको रूची, सम्बन्ध र काम पनि छुट्टाछुट्टै थियो । सन् २००७ मा जर्ज पारलैंगिकको रूपमा खुलेका थिए । ५० वर्ष पुग्दा लोरीले एक अन्तरवार्तामा चिकित्सकले आफूहरू ३० वर्षसम्म पनि बाँच्छन् भन्ने नसोचेको सुनाएकी थिइन् । ‘जब हामी जन्मिएका थियौं, डाक्टरहरूले हामी ३० वर्षसम्म बाँच्छौं भनेर पनि सोचेका थिएनन् । तर हामीले उनीहरूलाई गलत साबित गर्‍यौं,’ लोरीले भनेकी थिइन् ।

जुम्ल्याहा सन् १९६१ सेप्टेम्बर १८ मा पेन्सिलभेनियाको वेष्ट रिडिङमा जन्मिएका थिए । उनीहरू दुबै पब्लिक हाइ स्कुल र कलेज गएका थिए । लोरीले ६ वर्षसम्म एक अस्पतालमा लुगा धुने काम गरेकी थिइन् । लरी बलिङ गर्ने प्रतियोगिताको विजेता समेत रहिसकेको एपीले जनाएको छ । ६ वर्षसम्म काम गरेपछि जर्जको म्युजिक करिअरका लागि उनले सन् १९९६ मा आफ्नो जागिर छाडेका थिए । एक समाचारका अनुसार लोरीले एक पटक इन्गेजमेन्ट पनि गरेकी थिइन् । तर विवाह हुनुअघि नै पुरूषको दुर्घटनामा मृत्यु भएको थियो ।

५० देखि ६० हजार जन्ममा एक पटक यसरी जोडिएका जुम्ल्याहाको जन्म हुने सम्भावना हुने एपीले जनाएको छ । यसरी जन्मिने केही प्रतिशत मात्रै टाउकोमा जोडिएका हुन्छन् । अन्यको छाती, पेटमा जोडिने गरेका छन् । यसअघि टाउको जोडिएर सबैभन्दा जेठा रहेका रोनी र डोनी गलयोनको सन् २०२० मा मृत्यु भएको थियो । उनीहरूको ६८ वर्षमा मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७