सुदूरपश्चिममा केन्द्रकै सहमति अनुसार सरकार बन्छ, कोशीमा मार्ग प्रशस्त गर्नुपर्छ : एमाले


२ बैशाख २०८१, आईतवार
pradeep gyawali

काठमाडौं । सत्ता साझेदार नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सत्ता सहकार्य अनुसार नै सुदूरपश्चिममा सरकार गठन हुने दावी गरेका छन् । आज (आइतबार) पार्टी सचिवालय बैठकको निर्णय सुनाउँदै उनले नागरिक उन्मुक्ति पार्टीको विवादको प्रतिविम्ब देखिएको बताए ।

नागरिक उन्मुक्ति पार्टीको विवाद र संसदीय दलको नेता को हो भन्ने कानुनी निर्क्योल निकाल्न बाँकी रहेको उनले बताएका छन् । ‘केन्द्रमा जुन सत्ता सहकार्य छ, त्यही अनुरूपकै सरकार बन्छ । मुख्यमन्त्री त्यसै गरी आउनु हुन्छ ।’ उनले भने, ‘एकीकृत समाजवादीको दलको नेताले यहाँको सहमति विपरीत पत्र दिएको भए पनि केन्द्रका नेताले त्यसो नगर्नुस्, त्यो गलत हो, फिर्ता लिनुस् भनेर निर्देशन दिएको सार्वजनिक सञ्चार माध्यममा आएको छ । जुन सहकार्य केन्द्रमा छ, त्यही कोर्स अनुसार नै सुदूरपश्चिमको राजनीति अघि बढ्छ भन्ने विश्वास छ ।’

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीकै दुई प्रदेशसभा सदस्यले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नाजिर मियाँले समय दिएको अन्तिम दिन एउटै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्षीय लक्ष्मणकिशोर चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

एकीकृत समाजवादीले रेशम पक्षीय चौधरीलाई समर्थन गरेको छ । कोशीको सन्दर्भमा पत्रकारको जिज्ञासामा ज्ञवालीले मुख्यमन्त्रीले बहुमत गुमाइसकेकाले नयाँ सरकार बनाउने बाटो खोलिदिनु पर्ने बताएका छन् । ‘संसदबाट सरकार बन्ने अवस्थासम्म संसद विघटन नहुने सर्वोच्चको फैसलाको नजिर अनुसार मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७