अफगानिस्तानमा भारी वर्षा र बाढी, ३३ जनाको मृत्यु


३ बैशाख २०८१, सोमबार
ba

काठमाडौं । अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । ‘शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो मानवीय तथा वित्तीय क्षति भएको छ’, सरकारको प्रकोप व्यवस्थापन विभागले प्रवक्ता जनान सायेकले भने, ‘दुर्भाग्यवश ३३ जनाको मृत्यु र २७ जना घाइते भएको प्रारम्भिक जानकारीबाट थाहा भएको छ ।’

उनका अनुसार अधिकांश मृत्यु घरको छत खसेर भएका छन् । करिब ६०० घर क्षतिग्रस्त वा नष्ट भएका छन् भने ६०० किलोमिटर सडक भत्किएको छ । करिब दुई हजार एकड कृषि भूमिमा बाढी पसेको छ । मुलुकका ३४ प्रान्तमध्ये करिब २० प्रान्तमा भारी वर्षा भएको छ । यसपछि असामान्य रूपमा आएको सुक्खा जाडो मौसमले जमिन सुक्खा भएको र किसानलाई बाली लगाउने काममा ढिलाइ गर्न बाध्य पारेको प्रवक्ता सायेकले भने ।

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा विदेशी सहयोगको प्रवाह अत्यन्त कम भएको छ । यसबाट प्राकृतिक प्रकोपमा राहत प्रतिक्रियामा अवरोध भइरहेको छ । फेब्रुअरीमा पूर्वी अफगानिस्तानमा व्यापक हिमपातपछि गएको पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको थियो भने मार्चमा समाप्त भएको तेस्रो साताको वर्षामा करिब ६० जनाको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसंघले गत वर्ष अफगानिस्तानले चरम मौसमको स्थितिमा ठूलो परिवर्तनको अनुभव गरिरहेको चेतावनी दिएको थियो । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसमी ढाँचा बिग्रिरहेको छ र चार दशकको युद्धबाट प्रभावित अफगानिस्तान यस्तो घटनाको सामना गर्नका लागि सबैभन्दा कम तयार मुलुकमध्ये एक भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७