सुदूरपश्चिममा फेरि किचलो : एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्री नस्वीकार्ने


५ बैशाख २०८१, बुधबार
Dirga sodari1652096744

धनगढी । सत्ता गठबन्धनको संकट टरेको अनुमान भइरहेका बेला सुदूरपश्चिममा फेरि अर्को किचलो शुरु भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा सत्ता गठबन्धनबीच भएको सहमति एक दिनमै भत्केको छ ।

सत्ता गठबन्धनको विकल्पका रुपमा तयार भएको कांग्रेस, नागरिक उन्मुक्ति (रेशम पक्ष) र समाजवादी गठबन्धन भत्किए पनि फेरि एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीको विकल्प खोजेको छ । एमालेले सोडारीको विकल्प खोज्नु पर्ने अडान राखेपछि सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी रोकिएको छ । ‘सोडारी विवादास्पद व्यक्ति हुन् । उनकाविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा छ । अख्तियारले मुद्दाको तयारी गरेको छ । मन्त्री भएका बेला पनि उनी विवादमा आएका थिए, त्यसैले गठन भएको सरकार अस्थिर नहोस् भनेर यस्तो सुझाव दिइएको हो,’ नेकपा एमाले स्रोतले भन्छ ।

एमालेले सोडारी बाहेक जुनसुकै प्रदेश सभा सदस्य भए पनि मुख्यमन्त्रीमा सहमति जनाउने बताएको छ । माओवादी, एमालेका संसदीय दलका नेताहरू यसबारेमा बिहानैदेखि छलफलमा छन् । उनीहरुले समाजवादीका प्रकाश रावल र माया पन्त जो भए पनि मुख्यमन्त्रीमा पठाउन आग्रह गरेका छन् ।

एकीकृत समाजवादीको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा बुधबार बिहान दाबी पेस गर्ने तयारी गरिएको थियो । मंगलबार राति नै एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय पनि गरिसकेको छ ।

तर, एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि अन्यौलता देखिएको छ । अहिले एकीकृत समाजवादी र एमालेका शीर्ष तहका नेताहरू विभिन्न तह र तवरले छलफल गरिरहेको बताइएको छ । समाजवादीले मंगलबार कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रदेश प्रमुख नजीर मियाले नागरिक उन्मुक्तिकै दुईजनाको दाबी पेश हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको जनाउँदै बिहीबार बेलुकी ५ बजेसम्मको म्याद दिएर संविधानको धारा १६८ (२) अनुसार दोस्रो पटक सरकार आह्वान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७