सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्री बनाउने नेकपा एसको निर्णय


५ बैशाख २०८१, बुधबार
dirgha sodari

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको आज (बुधबार) बसेको केन्द्रीय सचिवालय बैठकले सोडारीको नाममा सहमति गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सत्ता गठबन्धनमा मंगलबार सूदुरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको बताइएको थियो । तर सोडारीलाई मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न मंगलबार बिहान आयोजित बैठकमा सत्ता साझेदार नेकपा (एमाले) नेताहरू गएका थिएनन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । हाल नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुख सहित ११, नेकपा (एमाले)का १०, नाउपाका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् । रिक्त एक पदका लागि यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

प्रदेश प्रमुख नजिर मियाँले वैशाख ६ गते बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न समय दिएका छन्। यसअघि १० दिनको समय दिएका थिए । त्यसमा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका थिए । त्यस्तै, एमाले र माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले दाबी पेश गरेका थिए ।

लक्ष्मण नाउपा संरक्षक रेशम चौधरी पक्षका हुन् भने कैलाश अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन् । यसमा निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रदेश प्रमुख मियाँले पुन मिलिजुली सरकार गठन गर्न समय दिएका हुन् । यस पटक भने एमाले र माओवादीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरेका हुन् । यसअघि एमाले र माओवादीले नाउपालाई मुख्यमन्त्री दिने सहमति गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७