भुटानी शरणार्थीलाई निःशुल्क उपचार गर्ने डा. भम्पा राई असहाय बन्दै

दमक, २१ असार । सन् १९९१ मा भुटान छाडेका नेपालीभाषीको पछि लाग्दै डा. भम्पा राई भारत हुँदै नेपाल आए । शरणार्थी जीवन व्यतीत गर्नुपर्ला भनेर उनले कुनै पल पनि सोचेका थिएनन् ।
२७ वर्षदेखि शरणार्थीीको सेवामा लागेका भुटानका रोयल डाक्टर अहिले आफै थलिएका छन् । भुटानी राजपरिवारका निजी चिकित्सकका रूपममा सेवा गरेका उनको भुटानबाट बाहिरिनुअघि राम्रै सान, मान र दाम थियो ।
भुटानमा रहँदा खानलाउन पर्बाह थिएन, थिम्पु जेनरल हस्पिटलमा उच्च ओहोदाको डाक्टरी पेसा छाडेर छाप्रामा बसेका शरणार्थीलाई निःशुल्क सेवा दिन आएका उनी अहिले आफै थलिएका छन् । अनि थलिएको ज्यानले मृगौला खराब भएकी श्रीमतीको स्याहारमा लागेका छन्। अाजकाे नागरिक दैनिकमा समाचार छ ।
भारतको सिलिगुडीको आनन्दथोक अस्पतालमा उपचार गराइरहेका डाक्टर भम्पाको आन्द्राको दोस्रोपटक शल्यक्रिया भएको छ । दिसा र पिसाबबाट रगत जान नरोकिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भुटानीकै निःशुल्क उपचार गरिदिने डाक्टर नै थलिएपछि शरणार्थी पनि अहिले समस्यामा परेका छन् ।
शरणार्थीको स्वदेश फिर्तीको अगुवाइ गर्दै आएका उनको ५७ वर्षीया श्रीमती उर्मिला त पुरानै रोगले थला परेकी छिन् । उर्मिलाको दुवै मृगौला काम गर्न नसक्ने अवस्थामा छन् । औषधिले पनि काम नगरेपछि डायलासिसले उनको जीवन थामिएको छ।