रसियन टिमलार्इ राष्ट्रपति पुटिनको शुभकामना सन्देश, क्रोएसियाविरुद्ध उत्साहित


२३ असार २०७५, शनिबार
rusia and putin

एएफपी
सोची, २३ असार । रुसका प्रशिक्षक स्टानिस्लाभ चर्चेसोभका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनको शब्दले टोलीलाई क्वाटरफाइनल खेल्न थप आत्मबल पुगेको छ । शनिबार क्रोएसियाको सामना गर्ने तयारीमा रहेको टोलीलाई राष्ट्रपति पुटिनले शुभकामना सन्देश दिएका थिए ।

rusia and putinमस्कोस्थित क्रेमलिनमा आयोजित बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित दिग्गज फुटबल खेलाडी । तस्बिर : एपी

‘राष्ट्रपति पुटिनले मलाई स्पेनविरुद्धको खेलअघि र खेलपछि फोन गरेका थिए,’ चर्चेसोभले पत्रकर सम्मेलनमा भने, ‘पक्कै पनि राष्ट्रपतिको साथ पाउँदा केही सहज हुन्छ । खेलाडीहरूले पनि यसबारे थाहा पाएका छन् र यसले आत्मबल बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ । ’
रुसले सन् २०१० को विश्वकप विजेता स्पेनलाई टाइब्रेकरमा पराजित गरेको खेल पुटिनले टेलिभिजनबाट हेरेका थिए ।

यस जितसँगै रुस पहिलोपल्ट सोभियत युगमा विश्वकप सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै देशभर समर्थकमाझ उत्साह छाएको थियो । प्रतियोगिताअघि खराब नतिजा निकालेको रुसले अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गरिरहेको छ ।

चर्चेसोभको टोली विश्वकपमा सात खेलको जितविहीन यात्रामा आएको थियो । तर प्रशिक्षक निरन्तर राम्रो प्रदर्शनका बाबजुत टोलीले अझै सुधार गर्ने पक्ष रहेको बताउँछन् । ‘म प्रशिक्षक भएर पनि कुनै टीभी र पत्रिका पल्टाइरहेको छैन ।

म आफ्नो काममा ध्यान दिएर लागेको छु,’ उनले भने, ‘म खेलाडीमाथि विश्वास राख्छु । स्पेनविरुद्ध खेल राम्रो थियो, तर अब अगाडि बढ्नु जरुरी छ । अब फरक खेल र फरक स्तरको प्रतिद्वन्द्वी सामना गर्नेछौं ।’

चर्चेसोभलाई शनिबारको खेलमा एलान जागोएभको साथ पनि हुनेछ । साउदी अरेबियाविरुद्ध उद्घाटन खेलमा चोट बोकेपछि मैदानबाहिर रहेका उनी अहिले ठीक भएका छन् । ‘महत्त्वपूर्ण खेलाडीलाई पहिलो खेलमै गुमाउनु दुर्भाग्यपूर्ण थियो । अहिले उनी प्रशिक्षणमा आइसकेका छन् र शनिबार सुरुआत गर्ने सम्भावना खोज्दै छन्,’ चर्चेसोभले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७