किन दिए मोदीका आर्थिक सल्लाहकार सुरजीतले एक्कासी राजीनामा ?


२५ मंसिर २०७५, मंगलवार
modi adviser

काठमाडौं, २५ मंसिर । भारतको पाँच राज्यमा भएको विधानसभाको चुनावको प्रारम्भिक नतिजामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (विजेपी) ले निरास बनाइरहेका बेला प्रधानमन्त्री मोदीका आर्थिक सल्लाहकारले पनि पदबाट राजीनामा दिएर साथ छोडेका छन् ।

modi adviser

प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्बाट चर्चित अर्थशास्त्री सुरजीत भल्लाले मंगलबार राजीनामा दिएको घोषणा गरेका हुन् । उनले १ डिसेम्बरमै राजीनामा दिएको भए पनि मंगलबार टवीट् गरेर आफूले राजीनामा दिएको जानकारी गराएका हुन् । उनले राजीनामा दिएको बताए पनि किन राजीनामा दिएको भन्ने बारेमा भने खुलाएका छैनन् ।

सो परिषद्ले आर्थिक मामिलाका विषयमा प्रधानमन्त्रीलाई सल्लाह दिने गर्दछ । सोमबार मात्रै भारतको रिजर्भ बैंकका गभर्नर उर्जित पटेलले राजीनामा दिएका थिए । यता भारतको मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना सबै राज्यको प्रारम्भिक नतिजाले पनि मोदीलाई निरास बनाएको छ ।

पाँचै राज्यको प्रारम्भिक मतपरिणाम अनुसार भारतीय कांग्रेसका लागि सुखद रहेको छ । मध्य प्रदेश विधानसभामा २३० सिट रहेको छ । जहाँ सरकार बनाउन ११६ सिट आवश्यक पर्छ ।

प्रारम्भिक मतपरिणाम अनुसार मध्य प्रदेशमा कांग्रेसले १०६ सिटमा अग्रता बनाइरहेको छ । मध्य प्रदेशको १०८ सिटमा भारतीय जनता पार्टी (बीजेपी) ले अग्रता बनाइरहेको छ । अन्य दल ८ सिटमा अग्रता लिइरहेका छन् ।

राजस्थान विधानसभामा २०० सिट भए पनि एक जना उम्मेद्वारको निधन भएका कारण १९९ सिटमा चुनाव भएको थियो । राजस्थानमा सरकार बनाउन १०० सिट चाहिन्छ । राजस्थानको प्रारम्भिक मत परिणामअनुसार कांग्रेस ८८ सिटमा अगाडि छ भने बीजेपी ७४ सिटमा अगाडि छ ।

त्यस्तै ११९ विधानसभा सदस्य रहेको तेलंगनामा क्षेत्रीय दल तेलंगना राष्ट्रिय समिति ६० सिटमा अगाडि रहेको छ । जहाँ सरकार बनाउन ६० सिट नै चाहिन्छ । त्यस्तै तेलंगनामा कांग्रेस ३३ सिटमा अगाडि रहेको छ भने बीजेपी २ सिटमा अगाडि रहेको छ ।

मिजोरम ४० सदस्य रहेको मिजोरममा क्षेत्रीय दल मिजो नेसनल फ्रन्ट(एमएनएफ) ले १७ सिटमा अग्रता बनाएको छ भने कांग्रेसले १४ सिटमा अग्रता बनाउँदा बीजेपीले २ सिटमा अग्रता बनाएको छ ।

त्यस्तै छत्तीसगढ ९० विधानसभा सदस्य संख्या रहेको छ । छत्तीसगढको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसले बहुमतको सरकार बनाउने सम्भावना देखिएको छ । प्रारम्भिक मतपरिणामअनुसार ५४ सिटमा कांग्रेसले अग्रता बनाएको छ । बीजेपीले ३० सिटमा अग्रता बनाएको छ ।

पछिल्लो समय राहुल गान्धी कांग्रेस अध्यक्ष भएपछि पार्टीले लगातार नराम्रो नतिजा भोगिरहेको अवस्थामा पाँच राज्यको विधानसभा चुनाव भने राहुल गान्धीको नेतृत्वको असली परीक्षा हुने देखिएको छ । यिनै ५ राज्यको विधानसभा चुनावको मतपरिणामअनुसार सन् २०१९ को लोकसभा चुनावमा बीजेपी र कांग्रेसको कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७