प्रमाणपत्र धितोमा ऋण दिन शुरु, यसरी लिनुस् सुविधा


७ आश्विन २०७५, आईतवार
pramanpatr lone

काठमाडौं, ७ असोज । प्रमाणपत्र धितोमा ऋण दिनुपर्ने माग अब साँच्चै व्यवहारमै पूरा हुने भएको छ ।

pramanpatr lone

प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था आज (आइतबार) देखि लागू भएको छ । अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएसँगै आजैदेखि उक्त कार्यक्रम लागू भएको जनाएको छ ।

मन्त्रालयले आज सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ ।

मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन पाइन्छ । पहिलो शिक्षित युवा स्वरोजगार कर्जा । यसमा शिक्षित युवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर ऋण लिनसक्ने जनाइएको छ ।

कम्तिमा स्नातक पास गरेकाले ऋणका लागि आवेदन दिन सक्छन् । ऋण लिनेको उमेर ४० वर्षभन्दा कम हुनुपर्छ । शिक्षित येवा स्वरोजगार ऋण लिनको लागि विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए नेपाली विश्वविद्यालयबाट समकक्षता गराउनु पर्नेछ ।

ऋण लिनेले घरेलु तथा साना उद्योग कार्यलय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तिमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको हुनु पर्नेछ ।

सोको प्रमाणपत्र पनि पेस गर्नुपर्छ । दोस्रो उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा । माध्यामिक वा सो सरह उत्तीर्ण २५ वर्ष नकटेका युवाले यो कर्जा लिनको लागि आवेदन दिन सक्ने छन् ।

उच्च शिक्षा अध्ययनका लागि यस्तो कर्जा लिन पाउने छन् । यस्तो कर्जा लिने विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनु पर्नेछ। उनीहरू कलेज अध्ययन गरिरहेको हुनु पर्नेछ ।

यसरी कर्जाको लागि योग्यहरूले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनु पर्ने जनाइएको छ । आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र चाहिन्छ । प्राविधिक शिक्षा कर्जाको लागि विपन्न, लक्षित वर्गको सिफारिस पनि राख्नु पर्नेछ ।

यसरी आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनइसक्नु पर्छ । यदि दिन नमिल्ने अवस्था भए कारणसहित आवेदकलाई जानकारी दिनु पर्छ ।

यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुनेछ। जसमध्ये सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने छ। यदि १५ प्रतिशत ब्याज भएमा ऋणीले १० प्रतिशत मात्र तिरे पुग्छ । शिक्षित युवा स्वरोजगार कर्जाको सीमा ७ लाख हुनेछ भने उच्च शिक्षा अध्ययन कर्जाको सीमा ५ लाख रुपैयाँ हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७