भूकम्पपीडित अनुदानको समयसीमा पुनः थप


२५ आश्विन २०७५, बिहीबार
purna nirmad 2 1 1

काठमाडौं, २५ असोज । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ ।

purna nirmad 2 1 1

प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । ‘थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको हो’, उनले भने ।

प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ असार मसान्तसम्म पहिलो किस्ता लिन बाँकी लाभग्राहीले पुस मसान्तसम्म समयावधि थप गरेको छ । त्यस्तै २०७६ बैसाख मसान्तभित्र दोस्रो र तेस्रो किस्ता लिइसक्नु पर्नेछ ।

हालसम्म पहिलो किस्तासमेत नपाउनेको लाभग्राहीको हकमा प्राधिकरणले फरक खालको समय सीमा निर्धारण गरेको छ । प्राधिकरणले पहिचान भएका सेवाग्राहीसँग अनुदान सम्झौता सम्पन्न गरी २०७५ कात्तिक मसान्तभित्र पहिलो किस्ता लिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

गुनासो सुनुवाइबाट आएका र पुनः सर्वेक्षण जोखिम वर्ग परम्परागत बस्ती एवं स्थानान्तरबाट आउने लाभग्राहीको लागि उल्लेखित अनुदान किस्ता प्राप्त गर्ने समयवधि कार्यकारी समितिले निर्धारण गरेअनुसार हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार तीन लाख पाँच हजार ८८३ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । त्यस्तै दुई लाख ५१ हजार ५२७ घर निर्माणको क्रममा छन् ।

पहिलो किस्ता लिएर पनि घर नबनाएका भूकम्पपीडितले तोकिएको समयावधिमा सो रकम सम्बन्धित निकायमा बुझाउन निर्देशन दिइसकेको छ । अनुदान फिर्ता नगरे राज्यको सेवा सुविधाबाट समेत वञ्चित गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७