पाँच वर्षमुनिका बालबालिकालाई बुथमा लिएर जाने कि ?


१३ कार्तिक २०७५, मंगलवार
balbalika 1

काठमाडौं, १३ कात्तिक । शिशु जन्मेको ६ महिना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि पायक पर्ने ‘बुथ’ मा लिएर जाने तयारी गर्नुहोला ।

balbalika 1

मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकै पटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका-स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका छन् ।

कात्तिक १४ र १५ गरी दुई दिन भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ) लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि रहेको छ ।

मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान् पर्व बडादशैँ परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागिएको हो ।

पहिलोचोटी यस पटक ती कार्यक्रमको नेतृत्व पालिका (गाउँपालिका÷नगरपालिका) ले गर्दैछन् । ‘देशभरका ७५३ पालिकामार्फत् ती चार वटै सेवा प्रदान गर्न सबै तयारी पूरा भयो’, बालस्वास्थ्य शाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुलीले भने ।

उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइने छ । अल्वेन्डाजोल चकलेट स्वादमा रहेको छ ।

‘भिटामिन ‘ए’ ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ, रोगसँग लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरुलाई झाडापखाला, श्वास प्रश्वासलगायतका संक्रमणबाट जोगाउँछ’, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा. झलक गौतम बताउँछन् ।

भिटामिन ‘ए’ खुवाउने कार्यक्रम शुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ‘ए’ अभावको समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसैगरी बालबालिकाका लागि अति आवश्यक सुक्ष्म पोषक तत्वका रुपमा बालभिटा खुवाइँदैछ । सन् २००८ देखि ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन शुरुआत गरिएको थियो ।

बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ जुन बिहान खानामा मिसाएर खुवाउन पर्छ । करीब छ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिने छ ।

विज्ञका अनुसार २३ महिनाभित्र १८० प्याकेट बालभिटा खुवाउनु पर्छ । यस पटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।
पाखुराको नाप किन ?

मन्त्रालयले ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ । ‘पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेंलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेंलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ’, पोषणशाखा प्रमुख पराजुली भन्छन् । ]

कुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी एवम् लिटोका लागि पीठो समेत वितरण गरिने कार्यक्रम रहेको छ ।

बाल स्वास्थ्य महाशाखा प्रमुख डा. गौतमका अनुसार यस पटक ती कार्यक्रमका लागि ३६ हजार बुथ रहने छन् । ती बुथमा ६० हजार स्वास्थ्यका जनशक्ति परिचालन हुने छन् । पहिलो दिनमा स्वयम्सेविका÷स्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गर्नेछन् । पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयम्सेविकाले दोस्रो दिन घर घरमा गई ती सेवा प्रदान गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७