चीनसँग बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकाससम्बन्धी सम्झौता


१४ बैशाख २०८१, शुक्रबार
barsaman 1

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरेका छन् ।

उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ। त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ ।

कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए । नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एकअर्काका आकांक्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे ।

उनले राष्ट्रपति सी जिन फिङले ५ वर्षअघि गरेको नेपाल भ्रमण तथा आफ्ना प्रधानमन्त्री पुष्पकमल दाहाल प्राचण्डको गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाईमा पुर्‍याएको बताए । उनले ती दुवै उच्चस्तरीय भ्रममणमा भएका द्विपक्षीय सम्झौतामध्ये कार्यान्यवन हुन बाँकी भएकाहरुको कार्यान्वयनमा जोड दिए । चीनले पछिल्लो समय हासिल गरेको विकास लोभलाग्दो र प्रशंसनीय रहेको र नेपालमा पनि विकासको सोही गति समाउन चाहेको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७