हिउँले कतै हर्ष, कतै कष्ट (फोटोफिचर)
काठमाडौं, २३ पुस । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकालगायत मुलुकका धेरै स्थानमा सोमबार विहानैदेखि वर्षा भएको छ । वर्षासँगै देशका विभिन्न जिल्लामा हिमपात भएको छ ।
सबैभन्दा बढी हुम्लामा हिमपात भएको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमखालको हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फूलचोकी, चन्द्रागिरीलगायतका काठमाडौं उपत्यका वरपरका उच्च डाँडाहरुमा पनि सामान्य हिउँ परेको छ । फूलचोकी र चन्द्रागिरीमा हिउँ परेपछि आन्तरिक तथा वाह्य पर्यटक हिउँ खेल्दै रमाएका छन् ।
मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ । विहान दामन सिमभन्ज्याङमा हिमपात भएको पर्यटन व्यवशायी सुरथ अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार खेल्न मिल्नेगरी सिमभन्ज्याङ, दामनमा हिउँ परेको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपलिकाको दामन क्षेत्रमा प्रत्येक वर्ष हिमपात हुने गरेको छ ।
काठमाडौंबाट दामन पुग्न धेरै टाढा पनि छैन । थानकोट, नौबिसे हुँदै त्रिभुवन राजथबाट ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ ।सोमबार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा भए पनि बेलुकादेखि मौसममा सुधार हुँदै जाने विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् ।
मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिका वडा नं ७ तलितुम गाँउमा आइतबारदेखि लगातार हिमपात भएपछि जनजीवनमा प्रभाव परेको छ ।
आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । वैतडीमा पनि हिमपात भएको छ । हिमपातले हर्ष र कष्ट दुबै ल्याएको छ ।
हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घर बाहिर निस्कन समेत समस्या भएको छ । गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ ।
हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस झरेको छ । आइतबार रातिदेखि निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा जाडो निकै बढेको छ ।
यो वर्ष दोस्रो पटक परेको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका लाप्का लामाले जानकारी दिएका छन् । उनका अनुसार मुचुमा अहिलेसम्म झण्डै दुई फिट जति हिउँ जमेकाले घरबाट बाहिर निस्किन समेत समस्या भएको छ ।
हिमपातसँगै बढेको जाडोले हुम्लाको उत्तरी क्षेत्रमा पशुवस्तुलाई समेत घरमै घाँस हालेर राखिएको छ ।
मंसिर महिना शुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्यधिक बढ्नुका साथै तापक्रम माइनस १० नाघेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रवीन श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार यो पटक परेको हिमपातले अहिलेसम्म कुनै अप्रिय घटना नघटे पनि अत्यधिक चिसोले जनजीवन भने निकै प्रभावित बनाएको छ ।
किसान खुशी
लामो समयको खडेरीपश्चात् आज परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुशी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँ बाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चङ्खेली र सर्केगाढका स्थानीयवासी खुशी भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिएका छन् ।
गएको असोज अन्तिम सातादेखि राम्रोसँग पानी नपर्दा बारीमा छरेको गहुँबाली उम्रन नसकेमा दुःख मनाउ गरेका कृषकलाई यो हिमपातले खुशी बनाएको बताएका अदानचुली गाउँपालिका–१ का प्रिमे महतराका अनुसार यो पटकको हिमपातले बारीको गहुँ बाली उम्रिने छ । हिउँसँगै परेको पानीले जिल्लाको दक्षिण भेगमा कृषकलाई समेत केही आशा जगाएको अदानचुली–५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिएका छन् ।