जर्सा’बले दिउँसै माताजीसँग चर्किकला देखाएपछि…
काठमाडौं, २९ फागुन । प्रधान सेनापतिले आचरणयुक्त र क्षमतावान सेनाको अवधारणा सुनाएर मात्रै के गर्नु, जर्साबले दिनदहाडै माताजीसँग चर्तिकला देखाएपछि !
पूर्वी पृतना हेड क्वार्टर, इटहरीका दुईतारे प्रमुख समीर शाहीले एक जना माताजीलाई पछि लगाएर मर्निङवाक गर्दै रमिता देखाएपछि सेनापति पूर्णचन्द्र थापा धेरैचोटी जंगिसके । तर, उनी अझै ‘लाइनमा’ आएनन् ।
माताजी, अर्थात् झारफुक गर्ने, ग्रहदशा हेर्ने हैन, बरु सैनिक संगठनकै ग्रहदशा बिगारिदिने हुन् तिनी । ३५–३६ वर्षकी ती महिलासँग जर्नेलले विशेष सम्बन्ध राखेको भनेर पटक–पटक जंगी अड्डा र शशीभवनमा खबर पुगिसक्यो । तर, बानी जस्ताको तस्तै ! हेर्दा राम्री, हिस्सी परेकी छन् ।
यदि रिक्त एउटा तीनतारे जर्नेलमा बढुवा पाएनन् भने समीर असारमा घर जान्छन् । प्रभुराम शर्मा र गौरव तण्डुलसँगै उनी पनि तीन तारेका उम्मेद्वार हुन् । यदि तीनतारे पाएनन् भने पनि हेमन्त कुँवर रिटायर्ड भएको सात दिनसम्म जागिर खान्छन् । यसचोटी जसले तीन तारे जर्नेलको फुली लगाउँछ, उसलाई भावी प्रधानसेनापतिका रुपमा हेरिन्छ ।
प्रभुराम र गौरव त्यसका प्रतिष्पर्धी हुन् । प्रभुराम बानी, व्यवहारले पनि शुद्द ब्राह्मण । गौरव काठमाडौं, बागबजारकै नेवारी समुदायका । उनले संयुक्त राष्ट्रसंघीय मिशनमा जाने प्रयास गरेका थिए । तर, नेपाली सेनाको तर्फबाट पर्याप्त लबिङ हुन नसक्दा अवसर गुमाए ।
६ वटा भाषा फरर बोल्छन् । उता, खाद्य परिवहनका अजित थापाले सिपाहीलाई खाजा नखुवाएर मुरै–अचारमा टारेको भनी जंगी अड्डामा झोसपोल लगाइएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।