प्रधानमन्त्रीद्वारा राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

४६.८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिने


३ बैशाख २०७६, मंगलवार
break thru

सुर्खेत, ३ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको आज ‘ब्रेक थ्रु’ गरेका छन् ।

break thru
तस्वीर सौजन्य : डा. राजन भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा आयोजित कार्यक्रममा बटन थिचेर टनेल बोरिङ मेसिन (टिबिएम) निकालेसँगै सुरुङको ‘ब्रेक थ्रु’ भएको हो ।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेशिनमार्फत् सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।

बबई नदीको किनार हात्तीखालबाट १२ किलोमिटर २१० मिटर चुरे पर्वत छिचोल्दै मेशिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत् बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजना शुरु भएको हो ।

सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी नै छन् । विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरू हुँदैछ ।
४६.८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।

यसका लागि हात्तीखालमा विद्युतगृह निर्माण कार्यको प्रक्रिया शुरू भइसकेको छ । सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युतको आम्दानी वार्षिक करिब रु चार अर्ब तीन करोड र बाह्रै महिना सिंचाई उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने जनाएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाले पूर्वाधार विकास, मुआब्जा वितरण, रोजगारी जस्ता कार्यक्रमको प्रत्याभूति दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७