सगरमाथाबाट ल्याइएको ‘पत्थर’ विमानस्थलमा बरामद
काठमाडौं, १२ जेठ । सर्वोच्च शिखर सगरमाथाबाट आरोहीले ल्याइएको ‘पत्थर’ प्रहरीले त्रिभुवन विमानस्थलमा बरामद गरेको छ ।
सगरमाथा क्षेत्रमा भेटिएको पत्थर आरोहणबाट फर्किएका एक आरोहीले ल्याएको पाएपछि विमानस्थलबाट प्रहरीले बरामद गरेको हो । आरोही पेम्बा दोर्जे शेर्पा र अर्का एक विदेशी नागरिकले ल्याएको सो ‘पत्थर’ शंकास्पद देखिएकाले बरामद गरी वन विभागका अधिकारीलाई जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ ।
हेलिकप्टरमार्फत आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरु बाहिरिने क्रममा चेकजाँच हुँदा सो पत्थर फेला परेको जनाइएको छ ।
पत्थर फेला परेपछि उनीहरुलाई केहीबेर नियन्त्रणमा लिएर बन विभागका अधिकारीलाई पत्थर जिम्मा लगाएर छाडिएको बताइएको छ । सोही हेलिकप्टरमा सगरमाथा आधार शिविरमा खटिएका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत समेत सवार थिए ।